काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि सरकारी निवास बालुवाटार सर्दै छन्। तर, ज्योतिषीले भने बुधबार बेलुकी साँझ ५ बजेको साइत जुराएको छ।
ज्योतिषलाई साइत हेराएरै बालुवाटार सर्न लागेका प्रचण्ड भने भोलि बिहान ११ बजे बालुवाटार सर्ने तरखरमा छन्। तर, ज्योतिषले भने साइत आजकै जुराएको छ। प्रधानमन्त्रीको सचिवालयबाट बालुवाटार सर्न साइत हेराउदा आज बेलुकीको साइत जुरेको हो।
ज्योतिष टीकाराम घिमिरेले बेलुका ५ बजेका लागि बालुवाटार सर्न साइत निकालेका छन्। यद्यपि, बालुवाटार आजै सर्ने वा भोलि सर्ने भन्ने विषयमा यकिन टुंगो भने लागेको छैन। यसअघि प्रधानमन्त्री बन्दा सर्ट, पाइन्ट र कोट लगाएका प्रचण्डले यसपटक त्यो पूरानो शैलीमात्र होइन सरकारी निवास प्रवेश गर्दा पनि नयाँ शैली अपनाएका छन्।
कम्युनिष्टहरु धर्मभन्दा कर्ममा विश्वास गर्छन् र यसअघि प्रचण्ड यहिँ विश्वासमा अडिग थिए। तर, यसपटक एकाएक प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त भएपछि शपथ ग्रहण गर्दा पनि कोट पाइन्टको सट्टा दौरा सुरुवाल लगाए। र, सरकारी निवास छिर्न पनि कुनै हतार नगरी ज्योतिषलाई साइत देखाउन लगाइएयो।