सदाचारको मार्गदर्शनमा शिक्षा र चेतना - Chaitanya News
  • 2026-04-29
  • 06:27:00
  • बुधबार,बैशाख १६, २०८३
  • सदाचारको मार्गदर्शनमा शिक्षा र चेतना

    सदाचारको मार्गदर्शनमा शिक्षा र चेतना

    तोमनाथ उप्रेती:

    सदाचार भनेको व्यक्तिको आचरणमा नैतिकता, आदर, सत्य, करुणा र सकारात्मक मूल्यहरूको समावेशी व्यवहार हो। सदाचारका बिना समाज सुचारु, न्यायपूर्ण र दिगो हुन सक्दैन। शिक्षा र चेतना यस मार्गमा मुख्य आधार हुन्। शिक्षा केवल किताबी ज्ञान वा प्रमाणपत्र प्राप्ति मात्र होइन; यो मानव जीवनमा नैतिक मूल्य, जीवन-दर्शन, सामाजिक उत्तरदायित्व र व्यक्तित्व विकासको माध्यम पनि हो। चेतना भनेको आत्म-जागरूकता र समाजप्रतिको संवेदनशीलता हो। जब यी दुवै एकसाथ आउँछन्, तब व्यक्ति केवल आफ्नो हितमा सीमित रहँदैन, समग्र समाज र राष्ट्रको भलोका लागि पनि क्रियाशील हुन्छ।

    नेपालको परिवेशमा पछिल्ला दशकमा परिवारको विखण्डन, भौतिकवाद, पश्चिमी संस्कृतिको अतिक्रमण, मदिरा र लागू पदार्थको बढ्दो प्रयोगले सदाचार र मानवीय मूल्यमा प्रतिकूल प्रभाव पारेको छ। समाजमा भ्रष्टाचार, अपराध र अन्य विकृति बढ्नुको मुख्य कारण शिक्षा र चेतनामा आधारित नैतिक मार्गदर्शनको कमी हो। जब व्यक्तिहरूले आफ्नो कर्तव्य र अधिकारलाई बुझ्दैनन्, तब व्यक्तिगत स्वार्थले सामाजिक हितलाई हराउँछ। यस परिस्थितिमा शिक्षा र चेतनाले व्यक्तिलाई नैतिक आधार, सदाचार र सामाजिक जिम्मेवारी सिकाउन महत्वपूर्ण भूमिका खेल्छ।

    शिक्षाले व्यक्तिमा सकारात्मक सोचको विकास गर्छ। सकारात्मक सोच भनेको जीवनमा चुनौती, संघर्ष र असफलताका बाबजुद धैर्य, संयम र उन्नत विचार राख्ने क्षमता हो। सदाचारका लागि सकारात्मक सोच आवश्यक छ किनभने यसले मानिसलाई गलत कार्य, स्वार्थ र अहंकारबाट बचाउँछ। उदाहरणका लागि, महाभारतमा युधिष्ठिरले आफ्नो व्यक्तिगत स्वार्थभन्दा धर्म र न्यायलाई प्राथमिकता दिए। यही दृष्टान्तले देखाउँछ कि सकारात्मक सोच र नैतिक शिक्षाले मात्र व्यक्तिलाई न्यायपूर्ण निर्णय गर्न प्रेरित गर्छ।

    चेतना भनेको केवल ज्ञानको बुझाइ मात्र होइन, तर आफ्नो कार्य र सोचको सामाजिक प्रभावको पनि ज्ञान हो। जब व्यक्तिले आफ्नो व्यवहारको परिणाम बुझ्छ, तब उसले केवल आफ्नो लागि होइन, समाज र राष्ट्रको भलोका लागि काम गर्न थाल्छ। रामायणमा रामले व्यक्तिगत पीडाभन्दा बढी सामूहिक धर्म र न्यायलाई प्राथमिकता दिएका थिए। यसले देखाउँछ कि चेतना र नैतिकता व्यक्ति र समाज दुवैको मार्गदर्शन गर्न सक्छ।

    शिक्षा र चेतनाले मानिसलाई जीवनका कठिन परिस्थितिमा पनि स्थिर र शान्त रहन सिकाउँछ। जीवनमा चुनौती, असफलता र अप्ठ्यारो परिस्थितिहरू सामान्य हुन्छन्। यसमा धैर्य, संयम र आत्म-नियन्त्रण विकास गर्नु शिक्षा र चेतनाको प्रमुख लक्ष्य हो। यसले व्यक्तिलाई केवल आफ्नो हितमा सीमित नराखी अरूको भलो, समाजको कल्याण र राष्ट्रको प्रगतिको लागि सोच्न र कार्य गर्न सक्षम बनाउँछ।

    सदाचारको मार्गदर्शनमा शिक्षा र चेतना परिवार, समाज र शिक्षा संस्थाबाट सुरु हुन्छ। परिवार व्यक्ति सिक्ने पहिलो पाठशाला हो। परिवारले सिकाउने संस्कार, आदर्श र व्यवहारले नै व्यक्तिको नैतिक विकासमा ठूलो योगदान पुर्‍याउँछ। समाजमा रहेका बुद्धिजीवी, प्रबुद्ध र नेतृत्व वर्गले पनि आफ्नो आचरणद्वारा अनुकरणीय उदाहरण प्रस्तुत गर्नु पर्छ। नागरिक शिक्षा नागरिकलाई प्रजातन्त्र, प्रशासन र समाजप्रतिको जिम्मेवारी बुझाउने माध्यम हो। यसले नागरिकलाई आफ्नो भलो गर्न, समस्याको समाधानमा सहयोग लिन, कमजोर वर्गको उत्थान गर्न र सह-अस्तित्वको भावना विकास गर्न सिकाउँछ।

    अध्यात्मवादले पनि सदाचारको मार्गदर्शनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँछ। अध्यात्मवादले आत्मालाई सर्वपरी मान्दै जीवनका उद्देश्य, कर्तव्य र आत्मज्ञान खोज्न प्रेरित गर्छ। यसले मानिसलाई सत्य, धर्म, प्रेम, करुणा र सहिष्णुता जस्ता मानवीय मूल्यमा आधारित जीवन यापन गर्न सिकाउँछ। जब शिक्षा, चेतना र अध्यात्म एकसाथ हुन्छन्, तब व्यक्तिको जीवन मात्र नभई समाजको व्यवहार, सोच र संरचना नै सुधार हुन्छ।

    मानवीय मूल्यमा आधारित शिक्षा व्यक्तिलाई केवल ज्ञान दिन सीमित हुँदैन; यसले व्यक्तिलाई समाजप्रतिको उत्तरदायित्व, पर्यावरणीय सन्तुलन र अन्य प्राणी र मानवीय समुदायसँग सहअस्तित्वमा रहन प्रेरित गर्छ। सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया भन्ने पुरातन मन्तव्यले यसै भावनालाई पुष्टि गर्छ। शिक्षा र चेतनाले मात्र व्यक्ति र समाजमा सहिष्णुता, सहयोग, मैत्रीभाव र सामाजिक न्यायको विकास गर्न सक्छ।

    मानव समाज नीति, कर्म र आचरणबाट संचालित हुन्छ। सदाचार भनेको व्यक्तिको विवेक वा अन्तरात्मामा रहेको शक्ति हो, जसले व्यक्तिलाई गलत कार्य नगर्न सचेत गराउँछ। सदाचारी व्यक्ति स्वार्थ, लोभ, लालसा, आग्रह जस्ता कमजोरीसँग सम्झौता गर्दैन। आजको नेपाली समाजमा चाहिएको विषय नै सदाचार र सुशासन हो। यी दुई एकअर्कासँग अन्तरआबद्ध छन्।

    सार्वजनिक संस्थाहरू समाजलाई व्यवस्थित गर्न निर्माण गरिन्छन्। संस्थाको नेतृत्व पनि समाजमा असल आचरण स्थापित गर्न, संस्कार र सभ्यता प्रवर्द्धन गर्न निर्माण गरिएको हुन्छ। नेतृत्व मूलतः विधि र निष्ठाको प्रतीक हो। नेतृत्व उदाहरणीय भयो भने संस्थाहरू बलिया हुन्छन्, र यसले सुशासनको आधार तयार पार्दछ। पदाधिकारी र संस्थाहरूले नैतिकता, सदाचार र व्यावसायिक मूल्य आचरणमा देखाउँदा मात्र सुशासन कायम रहन्छ।

    सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो, जसले व्यक्तिको व्यवहार, क्रियाकलाप वा चालचलनको निर्देशन गर्दछ। प्रशासकीय कार्यलाई प्रभावकारी र दक्षतापूर्वक सम्पन्न गर्न निर्देशन गर्ने मूल्य, मान्यता, नियम र कानुनको समष्टि नै प्रशासकीय आचरण हो। सदाचार र नैतिकता हरेक मानिसले पालन गर्नुपर्ने असल व्यवहार हो। यसबिना सुशासन कायम गर्न अप्ठ्यारो हुन्छ। सुशासनमा कमी आउँदा दुराचारीले प्रभुत्व पाउँछन्।

    सदाचार केवल आचरणमा सीमित छैन, यसले जीवनलाई गति र दिशा दिन्छ। सदाचारी नागरिक र शासक भएको देशमा मात्र सुशासन कायम हुन्छ र राष्ट्र अग्रगतिमा जान्छ। महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका थिए। नागरिकमा जति धेरै सदाचार विकास हुन्छ, सुशासन त्यति नै सहज र प्रभावकारी हुन्छ।मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँछ। स–साना मानवीय कमजोरीबाट प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ। स्वार्थ, लोभ, लालसा, आसक्ति र आग्रहलाई दबाउने सामथ्र्य नै सदाचारको आधार हो। कसैले के भन्छ भन्दा पनि के गर्छ भन्ने पक्ष नै महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीं सत्य र उचित कामका लागि व्यक्ति एक्लै उभिने साहस राख्नुपर्छ।

    सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभले व्यक्तिलाई दुराचारी बनाउँछ। इमानदारी र अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, विचार र कार्यले नै असल चाहना प्राप्ति सम्भव बनाउँछ। राजनैतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, व्यावसायिक रूपमा सक्षम कर्मचारी नै राज्य प्रभावकारिताको आधार हुन्।

    लोकतान्त्रिक शासन व्यवस्थाको विकासका लागि सुशासन अनिवार्य छ। लोकतन्त्र बिना सुशासन र सुशासन बिना लोकतन्त्र दिगो हुन सक्दैन। राज्य व्यवस्थालाई सक्षम, प्रभावकारी र सफल बनाउन सार्वजनिक प्रशासनमा नैतिकता, समर्पण, पारदर्शिता, उत्तरदायित्व, स्वच्छता, जवाफदेही र आर्थिक सदाचार आवश्यक छ।सदाचार नीति, नियम र व्यवहारप्रति सतर्क रहँदै कार्य गर्ने सुविचार, उत्तम आचरण, स्वच्छता, निष्पक्षता र इमानदारी हो। यो केवल सैद्धान्तिक विषय होइन; अन्तरवोध र आत्मानुभूतिको विज्ञान हो। व्यक्ति आफ्नो दैनिक गतिविधिमा अवलम्बन गर्ने मूल्य, मान्यता र नैतिकताको समष्टि नै आचरण हो। यसले के ठिक हो र के बेठिक हो, के गरिनुपर्छ र के गर्नु हुँदैन भन्ने कुरालाई निर्देशन गर्दछ।

    सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको जिम्मेवारी, कार्यसम्पादन सूचक, सेवा बडापत्र, प्रोत्साहन र मूल्यांकन प्रणाली, नागरिक दबाब जस्ता संयन्त्रहरू अनिवार्य छन्। नागरिक चेतना, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले पनि सार्वजनिक प्रशासनलाई नैतिक, व्यावसायिक र सदाचारी बनाउन बल पुर्याउँछन्।नैतिक आचरण र सदाचारयुक्त नेतृत्वले कर्मचारीमा आत्म-नियन्त्रण र स्व-प्रेरणा वृद्धि गर्दछ। यसले सार्वजनिक सेवालाई निष्पक्ष र राजनीतिबाट तटस्थ बनाउन मद्दत गर्छ। ढिलासुस्ती, लापरबाही, भ्रष्टाचार र अधिकार दुरुपयोगलाई निरुत्साहित गर्दछ। यसले सेवाग्राहीको सरकार र सार्वजनिक सेवा प्रति विश्वास अभिवृद्धि गर्न, सरकारी काम छिटो र प्रभावकारी बनाउन र सुशासन कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।

    सदाचारको मार्गदर्शनमा शिक्षा र चेतना सामाजिक न्याय, समानता, नैतिक नेतृत्व र दिगो विकासको आधार हो। जब व्यक्तिहरू शिक्षित, चेतनाशील र नैतिक मूल्यप्रतिको संवेदनशील हुन्छन्, तब समाजले प्रजातान्त्रिक, न्यायपूर्ण र सुशील रूप लिन्छ। यो प्रक्रिया निरन्तर र क्रमिक छ; व्यक्तिगत आचरण, परिवार, समाज र प्रशासन सबैको योगदानले मात्र न्यायपूर्ण समाजको निर्माण सम्भव हुन्छ।सारांशमा, सदाचार, नैतिकता र सकारात्मक आचरण नागरिक र नेतृत्व दुबैमा अनिवार्य छन्। जब यी मूल्यहरू व्यक्तिमा गहिरो समाहित हुन्छन्, तब सुशासन र लोकतन्त्र दुवै सुदृढ हुन्छन्। नागरिक शिक्षाले मात्र होइन, नैतिक र सदाचारी नेतृत्वले पनि राष्ट्रको समृद्धि, विकास र सामाजिक न्याय सुनिश्चित गर्न योगदान पुर्‍याउँछ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)