काठमाडौँ– सरकारले संसद्को अधिवेशन स्थगन गरेर दुई वटा अध्यादेश ल्याएको छ। हिजो (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी र सहकारी सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्दै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार सिफारिस अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन गरिरहेको छन्।
‘सरकारले पठाएका अध्यादेशमा राष्ट्रपति ज्यूले अध्ययन गरिरहनुभएको छ’, राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले भने।
गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । सरकारको सिफारिसपछि राष्ट्रपतिले संसद् अधिवेशन आह्वान समेत गरेका थिए।
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरेका थिए। तर पछि सरकारले विशेष कारण भन्दै रोकेको थियो।
संसद् चलिरहेका बेला अध्यादेश ल्याउन नमिल्ने भएपछि सरकारले संसद्लाई छलेर अध्यादेशको बाटो रोजेको बुझिएको छ।