तोमनाथ उप्रेती:
नैतिक आचरण बहुआयामिक विषय हो । यो हरेक संस्कृतिको अभिन्न अङ्ग हो । यो पारिवेशिक, विभिन्न स्तरमा अन्तरसम्बन्धित रहन्छ । यसको उद्गम न्यायबाट भएको हो । नैतिकता कानुन, आचारसंहिता भन्दा सधैँ माथि रहन्छ । यसलाई प्राकृतिक कानुनको रूपमा लिइन्छ । यसले हरेक व्यवहारलाई अनुशासित र मर्यादित बनाउँछ । सबै प्रकारका विषयवस्तुमा सकारात्मक प्रभाव पार्छ । असल समाज निर्माण गर्नु, सभ्य समाज निर्माण गर्नु नैतिक आचरणको प्रमुख अभीष्ट हो । हरेक काम कुरामा सकारात्मक ऊर्जा प्राप्त गर्नका लागि नैतिक आचरणको अवस्था बलियो हुन जरुरी छ । सभ्य र विकसित समाज निर्माणको हरेक चरणमा इमानदारिता, पारदर्शिता, सदाचारिता, जवाफदेहिता, वस्तुपरकता, विश्वसनीयता, आदरभाव, कानुनप्रति निष्ठा, समयप्रति संवेदनशीलता हुनु नै नैतिक आचरण राम्रो हुनु हो । नैतिकताको पाटो बलियो हुनु हो । हरेक कर्ममा सहकार्य, समर्पण, विश्वसनीयता, उत्पादकत्व, सदाचारिता, अग्रसरता र गुणस्तरीयता प्राप्तिको लागि नैतिक आचरणको मूल्य बलियो बनाउनु वर्तमान आवश्यकता हो । कुनै पनि वस्तुको मूल्य कति छ भन्ने कुरा सो वस्तुको अभावमा बढी महसुस गर्न सकिन्छ । वर्तमान समग्र मुलुकको अवस्था अध्ययन गर्दा हरेक तहमा नैतिक आचरणको अवस्था कमजोर रहेको छ । सामाजिक तहमा हेर्दा पक्षपातपूर्ण सामाजिक व्यवहार, विभेद, विकृति र विसङ्गतिको पर्खाल व्यापक रूपमा बढेदै गएको अवस्था विधमान छ । सामाजिक मूल्यमान्यता, सभ्यता र संस्कृतिमा समेत ह्रास आएको छ ।सामाजिक व्यवहारलाई मर्यादित बनाउन, न्याय र निष्पक्षता कायम गर्न सामाजिक तहमा नैतिक आचरणको मूल्यलाई समाहित गर्न आवश्यक छ । यसबाट सामाजिक दुष्कृतिको नियन्त्रण भई सामाजिक सद्भाव वृद्धि गर्दै अहिंसा प्रवद्र्धन गर्न मद्दत पुग्छ । सम्पूर्ण नागरिकमा मानसिक तनावको अवस्थामा नियन्त्रण भई सभ्य समाज निर्माणमा टेवा पुग्छ ।
नैतिकताको क्षेत्र असीमित छ । नैतिकताले वातावरणीय तहमा समेत महत्वपूर्ण प्रभाव पार्छ । वातावरण संरक्षण, प्रदूषण नियन्त्रण, वन तथा वन्यजन्तु संरक्षण, पशु अधिकार, जैविक विविधताको रक्षा, वनजङ्गलको संरक्षण लगायतका काम कुरामा नैतिकताको प्रमुख भूमिका रहन्छ । कुनै व्यक्ति होस् वा संस्था जन्मदेखि मृत्युसम्मका सम्पूर्ण क्रियाकलापमा नैतिक आचरण समाहित हुन्छ । नैतिक आचरणको मूल्यलाई सकारात्मक रूपमा प्रयोग गर्नेहरू नै असल, राम्रो र विकसित हुँदै जान्छन् । लक्ष्य र उद्देश्यलाई प्राप्त गर्छन् । नैतिक आचरणको मूल्य बुझ्नेहरूले नै आफ्नो मूल्य बढाउन सक्छन् ।
नैतिकताले प्रशासनिक तहमा प्रत्यक्ष प्रभाव पार्छ । कमजोर नैतिक आचरणको कारणले सार्वजनिक सेवा प्रवाहमा घट्दो विश्वसनीयता, निर्णय निर्माण र कार्यान्वयनमा ढिलासुस्ती, परिवर्तन व्यवस्थापनमा अवरोध, सर्वसाधारणको हितमा ध्यान नपुग्नुजस्ता समस्याहरु देखा परेका छन् । सार्वजनिक सेवा प्रवाहमा सुशासन कायम गर्नका लागि प्रशासनिक तहमा उच्च नैतिक आचरण प्रर्वद्धन गर्नु जरुरी छ । जसले गर्दा सेवा प्रवाहमा गुणस्तरीयता, भ्रष्टाचारजन्य क्रियाकलापमा नियन्त्रण, आवश्यक नीति निर्माण र कार्यान्वयन, परिवर्तन व्यवस्थापन हुँदै सुशासनमैत्री प्रशासनको निर्माण गर्न सकिन्छ ।
नेपालमा उच्च राजनीतिक संस्कारको अभावले निष्ठाको राजनीति गर्नेहरूको खडेरी परेको अवस्था विधमान छ । राजनीति व्यक्तिगत स्वार्थ, दलगत स्वार्थभन्दा माथि उठ्न सकेको छैन। जसले गर्दा वास्तविक लोकतन्त्रको वितरण हुन सकेको छैन । अस्थिर राजनीतिले सबैमा अशान्ति, डर त्रासको वातावरण सिर्जना गरेको अवस्था विधमान छ । राजनीतिक तहमा उच्च नैतिक आचरण निर्माण गर्नु अबको प्रमुख आवश्यकता हो । जसले वास्तविक लोकतन्त्रको वितरण गरी सामाजिक न्याय, सुशासन र समृद्धि बढाउने काम गर्छ । सबै क्षेत्रमा भ्रष्टाचारजन्य क्रियाकलापमा नियन्त्रण हुन्छ । नैतिक आचरणको उचित अभ्यासको माध्यमबाट सरकार सञ्चालनमा स्वच्छ आचरणको निर्माण हुन्छ ।
साङ्गठनिक तहमा नैतिकताको प्रभाव व्यापक रहन्छ । नैतिकताको पाटो कमजोर हुनुको कारणले गर्दा सङ्गठनको साङ्गठनिक लाभ हासिल हुन सकेको छैन । कमजोर साङ्गठनिक वातावरण, भ्रष्ट व्यवहारको हालीमुहाली, मौलाइरहेको नातावादजस्ता थुप्रै कारणले साङ्गठनिक लक्षित उपलब्धि हासिल हुन सकेको छैन । साङ्गठनिक तहमा नैतिकता यस्तो अस्त्र हो जसले साङ्गठनिक मूल्य र व्यक्तिगत मूल्यलाई मिलाउँछ । भ्रष्ट व्यवहारलाई नियन्त्रण गर्छ । नातावादको दुरुपयोग रोक्दै सङ्गठनात्मक गतीशिलता हासिल गर्न सहयोग गर्छ ।
कमजोर नैतिकताले अन्तर्राष्ट्रिय तहमा सिङ्गो मुलुकको कमजोर अवस्था सिर्जना गर्छ एकातिर भने अर्कोतिर अन्तर्राष्ट्रिय सम्बन्ध, आर्थिक कूटनीतिको अवस्थामा समेत गम्भीर अवस्था सिर्जना हुन्छ । त्यसैले अन्तर्राष्ट्रिय तहमा उच्च नैतिकता कायम गरी नैतिक कूटनीतिलाई प्रबल बनाउनु आजको आवश्यकता हो । यसले अन्तर्राष्ट्रिय जगतमा युद्ध नैतिकता कायम गर्नुको साथै मानव अधिकार, सुरक्षित नागरिक क्षेत्र, रङ्गभेद र जातीय संहार रोक्न सहयोग गर्छ । आर्थिक र मानवीय सहयोग विस्तार हुनुका साथै पञ्चशीलका सिद्धान्त, अहिंसा तथा असंलग्नता विस्तार गर्नमा महत्वपूर्ण भूमिका रहन्छ ।
हाल मुलुक राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीयलगायत हरेक क्षेत्रमा कमजोर अवस्थामा रहेको छ । यसको प्रमुख कारणको रूपमा कमजोर नैतिकतालाई लिन सकिन्छ । नैतिक आचरण प्रवद्र्धनका पूर्वाधारमा राजनीतिक तहको वास्तविक प्रतिबद्धता चाहिन्छ । कार्यान्वयनयोग्य आचारसंहिता, आचरण समन्वय संयन्त्र, पेसागत संरचनाको निर्माण हुनुपर्छ । प्रभावकारी कानुनी संयन्त्र, दक्ष जवाफदेहिता संयन्त्र, सक्रिय नागरिक समाजलगायत अवयव यसका अभिन्न अङ्ग हुन् । नैतिकताले मात्र मान्छेलाई मान्छेजस्तो बनाउँछ। नैतिक आचरणले सदैव अरुप्रति राम्रो व्यवहार गर्न, दुःख नदिन, अहित नगर्न र सदाचारी भावना राख्न सिकाउँदछ।स्व–अनुशासन, उच्च चेतना, न्यून काम वासना नैतिक क्षेत्रका पक्ष हुन। साधकहरु सदैव नैतिक आचरणमा रहनु पर्छ। सकिन्छ अरुलाई सुख दिने; सकिन्न कम्तिमा अरुलाई दुःख नदिने आचरण नै नैतिक आचरण हो । सबै प्राणि हिंसा नगर्ने, चोरि नगर्ने, झुठो नवोल्ने, व्यभिचार नगर्ने, नसा सेवन नगर्ने यी ५ वटा नियमको पालना गृहस्थहरुको लागि आधारभुत नैतिक आचरण हुन् ।
शिक्षालाई अहिले बिक्रीको सामान बनाइएको छ । विश्वभरि यसको व्यापार हुन्छ र मानव यन्त्रहरू निर्माण गर्ने कारखाना बनाउने प्रयास भइरहेको छ । अबको युद्ध मानवीय मूल्य, अस्तित्व रक्षा पक्षधर र मानव यन्त्र निर्माण पक्षधरहरूको हुनेछ । त्यस युद्धमा हामी मानव मूल्यको पक्षमा दृढतापूर्वक उभिन सक्नु पर्दछ ।
आफ्नो व्यबहारलाई सावधानिपुर्वक स्मृतिमा रहेर निभाउनु पर्छ। आफ्नो व्यवहारबाट अरु प्राणीलाई पर्ने प्रभावबाट सचेत रहनु नैतिकता प्रति सचेत रहनु हो । नैतिक आत्म अनुशासनमा विनासकारी अकुशल कर्मवाट वच्न सक्नु पर्छ। मनसा, वाचा, कर्मणा अरु प्राणि प्रति दया, करुणा देखाउन सक्नु पर्छ ।
शिष्टता, नम्रता, प्रेरणात्मक वचन, हसिंलो चेहरा सवैको चाहना हुन्छ । खुला मनले दिईएको साहरा सबैलाई प्रिय लाग्छ।नैतिक आचरणमा परिपक्व हुन अभ्यासमा खरो उत्रिनु पर्छ। आफुले नैतिक आचरण पालना नगरीकन अरुले गरून् भन्नू पाखण्ड मात्र हो । सुरुवात आफैंबाट हुनु पर्दछ।आफ्नो व्यबहारलाई होस् पुर्वक सिर्जनात्मक बनाउने तथा सकेसम्म अरुलाई हानि नगर्ने प्रयत्न मार्फत हामी आफ्नो बर्तमान् र भविष्य दुवै सुखद् बनाउन सक्छौ । यहि नै सच्चा नैतिक सीप हुने छ।
अहिले देखिएको नैतिकता र पद्दतिको खडेरी एकैपटक भएको पनि होइन । लामो समयसम्म उचित ध्यान नपुग्दा र भएका मौलिक एवं नवीन पद्दतिले पनि दह्रो पाइला नटेकेकाले जताततै निष्ठा र अनुशासन हराएको अवस्था छ । हुन पनि भ्रष्टाचारजन्य घटना घटिरहनु, राजनीति र प्रशासन मात्र नभएर सामाजिक संस्था, वित्तीय संस्था, बजार, व्यक्ति सबैतर्फ विकृति विसंगति नियम मिच्ने, स्वार्थसिद्ध गर्ने तर आ–आफ्नो कर्तव्य, दायित्वप्रति भने उदासीन रहने क्रम बढेर गएको छ, जुन चिन्ताको विषय हो । हामीकहाँ कुनै पनि क्षेत्र भ्रष्टाचारबाट अछुतो छैन । यसबाट थाहा हुन्छ कि नैतिकता पातलिएको, सदाचार भत्किएको र अनुशासन हराएको छ । अब एक–एक गरी असल गुणहरुको बिजारोपण गर्ने, भएका निष्ठावान व्यक्तिको पहिचान गरी जिम्मेवारी दिने, उदाहरणीयरूपमा कार्यसम्पादन गर्ने संस्था, संगठन र व्यक्तिबाट अन्यमा सिकाई हस्तान्तरण गर्ने जस्ता काम गर्न जरुरी छ । मूलतः राजनीति र प्रशासन जस्ता जिम्मेवार एवं राज्यसंचालनको अगुवाई लिनुपर्ने क्षेत्रमा देखिने, झांगिने र फैलने विकृतिको जड भनेकै नैतिकताको कमी, पद्धति तथा काम गर्ने कौशल एवं तौरतरिकाको अभाव हो ।
नेपालको संविधानले राष्ट्रिय गौरव, अनुशासन, लोकतान्त्रिक मान्यता, सहिष्णुता, समानता, सम्मान र एकता जस्ता मूल्यलाई अंगिकार गरेको छ । यसर्थ धर्म, मानवीय मूल्य र कानुनबीच त्रिकोणात्मक सम्बन्ध रहन्छ, जुन कुनै पनि लोकतान्त्रिक मुलुक सञ्चालनको मूल कडी हो । सार्वजनिक व्यवस्थापनमा आध्यात्म्कि मुल्य मान्यताको विकासवाट सार्वजनिक प्रशासनलाई स्वच्छ, सवल, पारदर्शी, समावेशी, जनसहभागीतामुलक, नवप्रर्वनतमुखी, गतिशिल वनाउन सकिन्छ । सार्वजनिक पदाधिकारीहरुलाई उत्तरदायी र जिम्मेवार वनाँउदै समग्र सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त वनाउन सार्वजनिक प्रशासनमा आध्यात्मिक मुल्य मान्यताहरुलाई आनिवार्य रुपमा आत्मसात गर्नुपर्दछ ।
मानिस भएर जन्मिँदाको गौरव, प्रतिष्ठा र मूल्यको स्थान सबै मानव सभ्यता, धर्म, सँस्कृति र साहित्यमा उच्च रहँदै आएको छ । वैज्ञानिक रुपमा यसको परिभाषा स्थापित भैनसकेपनि मूलरुपमा एक मानिसले जन्मसिद्ध रुपमा एक मानिस भएको हिसाबले आत्मसम्मान, मूल्य, मर्यादा वा अरुबाट उचित रुपमा पाउनुपर्ने आदर वा उपयुक्त व्यवहारलाई मानवमूल्य वा मर्यादा भनी बुझ्नसकिन्छ । सामान्यतः जब यसको हनन् वा पिडित वा निमुखा वर्ग मानवमूल्यबाट च्यूत गरिन्छ तब यस शव्दको अक्सर सावधानीजन्य प्रयोग हुनेगर्छ ।
अध्यात्मवादले हाम्रो आत्मालाई यसको केन्द्रविन्दु मान्दछ। विज्ञानको एक धेरै महत्वपूर्ण क्षेत्रको रूपमा यसले मनोवृत्ति, योग्यता र उचाइ मात्र होइन तर एकै समयमा तीनवटै कुराको ख्याल राख्छ । स्टिभ जब्सले अध्यात्मवादलाई आधुनिक युगको धर्म मान्छन् । अध्यात्मवादले विभिन्न धर्मद्वारा प्रस्तुत गरिएका सबै तर्कहरूलाई समेट्छ र एकीकृत समाधान दिन्छ । धर्मलाई अध्यात्मवादको माध्यम मान्न सकिन्छ । एकचोटि हामीले आफूमा अध्यात्मवादलाई सिकाएपछि जीवनमा हाम्रो क्षमता बढ्छ र हामी प्रत्येक पल जागृत रहन्छौं। यो व्यक्तित्वमा परिष्करण हो जसले ज्ञान र सामाजिक कल्याणको साथ समग्र जीवन बिताउन मद्दत गर्दछ
नैतिकता, जवाफदेहिता र व्यवसायिकता जस्ता विषय सहजै स्थापित गर्न नसकिने र समय लाग्ने विषय हुन् । मानवीय मूल्य, इमान्दारिता, नैतिक दर्शन, नैतिक मूल्य मान्यता, पूर्वीय दर्शन, अध्यात्मवाद, कार्यसंस्कृति, कमजोर वर्गप्रति समानुभूति र सहयोगी व्यवहारले मानव जीवनलाई उत्कृष्ट बनाउन मदत गर्दछ । विशेषरूपमा सार्वजनिक क्षेत्रमा सिञ्चित गर्न जरुरी उच्चस्तरका पूर्वाधारकारूपमा रहेका नैतिक, आध्यात्मिक ,पद्धतिगत पक्ष जस्ता आधारभूत मूल्यहरुलाई आत्मसात गर्दै व्यक्तिगत र कामसँग सम्वन्धित आचरण पालनाका लागि सदासर्वदा तत्पर हुनुपर्छ । यसका लागि मूल्यमा आधारित शिक्षा प्रणाली मार्फत सार्वजनिक प्रशासनमा सुधारको थालनी गर्न आवश्यक छ ।
आजको विश्व तीव्र भौतिक प्रगति, सूचना प्रविधि र ग्लोबल सम्पर्कको जटिल युगमा अघि बढिरहेको छ। तर यसैक्रममा, मानव चेतना र नैतिक मूल्यहरूले अपेक्षित स्थान पाएको देखिदैन। विद्यालय शिक्षा र सार्वजनिक प्रशासनले यदि नैतिक चेतनालाई प्रमुख आधार बनाउँदैन भने, समाजमा भ्रष्टाचार, असमानता, हिंसा र अविश्वासको प्रवृत्ति बढ्न सक्छ। यसै कारण, विद्यालय शिक्षा र सार्वजनिक प्रशासनमा नैतिक चेतनाको प्रवर्द्धन अत्यन्त आवश्यक छ।
विद्यालय शिक्षा केवल ज्ञान र प्रविधि हस्तान्तरणमा सीमित हुनु हुँदैन। यो विद्यार्थीको व्यक्तित्व निर्माण, चरित्र विकास र सामाजिक उत्तरदायित्वको आधार पनि हुनु आवश्यक छ। विद्यार्थीले विद्यालयबाट न केवल पाठ्यपुस्तकको ज्ञान प्राप्त गर्छन्, तर सामाजिक मूल्य, नैतिकता, जिम्मेवारी र सहिष्णुता पनि सिक्छन्।
नैतिक चेतना विद्यार्थीलाई जीवनका कठिन परिस्थितिहरू सामना गर्न सक्षम बनाउँछ। उदाहरण स्वरूप, विद्यार्थीले आफ्नो व्यक्तिगत स्वार्थ र समूहको हितबीचको भिन्नता बुझ्छन्, सहकर्मीको अधिकारको सम्मान गर्न सिक्छन् र समाजमा सकारात्मक योगदान पुर्याउँछन्। यस्तो शिक्षा प्रणालीले विद्यार्थीमा केवल बौद्धिक विकास मात्र नभई भावनात्मक, नैतिक र सामाजिक विकास पनि सुनिश्चित गर्छ।
हिन्दू–बौद्ध दर्शन र आधुनिक मनोविज्ञानले नैतिक शिक्षा र आत्मचेतनाको महत्वलाई पुष्टि गर्छन्। योग, ध्यान, परोपकार र आत्मनिरीक्षणका अभ्यासले विद्यार्थीमा आत्मसंयम, करुणा, इमानदारी र सहिष्णुता विकास गर्छ। जब यी मूल्यहरू विद्यालय स्तरमै आन्तरिकीकृत हुन्छन्, तब विद्यार्थी मात्र होइन, उसको परिवार र समुदायमा समेत सकारात्मक प्रभाव पर्ने सम्भावना बढ्छ।
नैतिक चेतनामा आधारित शिक्षा प्रणालीले विद्यार्थीलाई भविष्यका जिम्मेवार नागरिक बनाउन सहयोग पुर्याउँछ। जब विद्यार्थी आचार, व्यवहार र निर्णयमा नैतिकता अपनाउँछन्, तब उनीहरू समाजमा भ्रष्टाचार, अन्याय र असमानताको विरुद्ध सक्रिय रहन्छन्। विद्यालयले नैतिक शिक्षा प्रदान गर्दा यसले दीर्घकालीन रूपमा सामाजिक स्थिरता, सहिष्णुता र सुशासनको आधार तयार पार्छ।
जसरी विद्यालय शिक्षा भविष्यका नागरिक तयार पार्छ, त्यस्तै सार्वजनिक प्रशासन पनि समाजको संरचना, शासन र विकासमा निर्णायक भूमिका खेल्छ। सार्वजनिक प्रशासनमा नैतिक चेतना हुनु भनेको केवल कानुन पालना गर्नु मात्र होइन, न्याय, पारदर्शिता, जिम्मेवारी र सेवा भावका आधारमा कार्य गर्नु हो।
यदि प्रशासनिक अधिकारी र कर्मचारीहरू स्वार्थ, लोभ र दबाबको प्रभावमा कार्य गर्छन् भने नीतिगत असमानता, भ्रष्टाचार र लापरबाही बढ्छ। यसको परिणाम स्वरूप नागरिकको विश्वास घट्छ, सामाजिक अस्थिरता बढ्छ र राष्ट्रको दीर्घकालीन विकास प्रभावित हुन्छ। यस्ता अवस्था रोकिने एक मात्र उपाय भनेको नैतिक चेतनामा आधारित प्रशासन हो।
विद्यालय शिक्षा र सार्वजनिक प्रशासन बीच गहिरो सम्बन्ध छ। विद्यालयले नैतिक चेतना र नागरिक जिम्मेवारीको शिक्षा प्रदान गरेपछि, ती विद्यार्थीहरू भविष्यमा प्रशासन, राजनीति वा सार्वजनिक सेवा क्षेत्रका जिम्मेवार नागरिक बन्न सक्छन्। यदि प्रारम्भिक शिक्षा नैतिक मूल्यमा आधारित हुन्छ भने, भविष्यको प्रशासनिक संरचना पनि स्वतः नैतिक र पारदर्शी बन्ने सम्भावना बढी हुन्छ।
यस सन्दर्भमा, विद्यालय शिक्षा र प्रशासनको सामूहिक जिम्मेवारी स्पष्ट हुन्छ। शिक्षा प्रणालीले विद्यार्थीमा मूल्य र चरित्र विकास गर्छ भने प्रशासनले ती मूल्यलाई व्यवहारमा रुपान्तरण गर्ने माध्यम बनाउँछ। जब यी दुई पक्ष सुसंगत र आपसमा सहयोगी हुन्छन्, तब मात्र सुशासन, पारदर्शिता र दीर्घकालीन विकास सम्भव हुन्छ।
विद्यालय शिक्षा र सार्वजनिक प्रशासनमा नैतिक चेतना एकअर्कासँग गहिरो सम्बन्धित छन्। विद्यालय शिक्षा नैतिक मूल्य र नागरिक जिम्मेवारीको बीउ रोप्छ भने सार्वजनिक प्रशासनले ती मूल्यलाई व्यवहारमा परिणत गर्छ। जब यी दुई पक्ष सुसंगत र सक्रिय हुन्छन्, तब मात्र समाजमा विश्वास, न्याय, समानता र सुशासन स्थापित हुन्छ। दीर्घकालीन रूपमा, यसले राष्ट्रलाई स्थायित्व, विकास र समृद्धितर्फ अग्रसर बनाउँछ।
नैतिक चेतनामा आधारित शिक्षा र प्रशासनले केवल व्यक्तिगत जीवनमा शान्ति र आत्मविश्वास मात्र ल्याउँदैन, समाजमा मेलमिलाप, सहयोग र समानताको वातावरण सिर्जना गर्छ। यसरी, दीर्घकालीन सामाजिक र राष्ट्रिय उन्नतिको आधार नै विद्यालय शिक्षा र सार्वजनिक प्रशासनमा नैतिक चेतनाको विकासमा निहित छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)