काठमाडौँ– नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको करदर पुनरावलोकन गरी घटाउन सरकारलाई सुझाव दिएका छन्।
उनका अनुसार हाल उच्च कर दरका कारण अपेक्षित राजस्व संकलन हुन नसक्ने अवस्था रहेकाले दर घटाउँदा उल्टै राजस्व वृद्धि हुन सक्ने सम्भावना रहेको छ।
आर्थिक वर्ष २०८३–८४ को नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष मल्होत्राले कर संरचना सहज बनाए अनौपचारिक कारोबार औपचारिक प्रणालीमा आउने दाबी गरे।
उनले बजेटको आकार वर्षेनि बढ्दै जाने तर लक्ष्यअनुसार राजस्व संकलन नहुने तथा खर्च कार्यान्वयन कमजोर रहने प्रवृत्ति देखिएको उल्लेख गरे।
बारम्बार मध्यावधि समीक्षामार्फत बजेट आकार घटाउनुपर्ने अवस्था आउनु अर्थतन्त्रका लागि सकारात्मक संकेत नभएको उनको भनाइ छ । आगामी बजेट यथार्थपरक र कार्यान्वयनमुखी हुनुपर्नेमा उनले जोड दिएका छन्।
सरकारले अघि सारेका महत्वाकांक्षी आर्थिक योजनालाई सफल बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पनि उनले स्पष्ट पारेका छन्।