इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति - Chaitanya News
  • 2026-05-01
  • 23:34:24
  • शुक्रबार,बैशाख १८, २०८३
  • इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

    इलामका सडक पुनर्निर्माणमा २ अर्ब १९ करोड स्रोत सहमति

    काठमाडौं– अर्थ मन्त्रालयले गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडक मर्मत तथा पुनर्निर्माणका लागि दुई अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ।

    क्षतिग्रस्त सडक र पुल मर्मत तथा पुनर्निर्माणका लागि भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेका कार्यक्रममा अर्थ मन्त्रालयले स्रोत सहमति प्रदान गरेको हो।

    क्षति भएका मेची राजमार्ग, माईखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवा खोला पुल, जोगमाई खोला पुल र मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा उक्त रकम खर्च गरिने छ।

    अर्थ मन्त्रालयले चालु आर्थिक वर्षका लागि तत्काल आवश्यक पर्ने ५४ करोड रुपैयाँ निकासा दिएको छ। स्रोत सहमति प्राप्त भएकाले अब सडक तथा पुल पुनर्निर्माणका लागि खरिद (टेन्डर) प्रक्रिया अगाडि बढाउन बाटो खुलेको छ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले विपद्‍बाट क्षतिग्रस्त सडकका संरचना मर्मत तथा पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएकाले टेन्डरको प्रक्रिया तत्काल अगाडि बढाउन सडक विभागलाई निर्देशन दिएका छन्। उक्त कार्य विभाग मातहतको सडक डिभिजन, इलामले कार्यान्वयन गर्ने छ।

    ३९ जनाको मृत्यु र ठूलो भौतिक संरचनामा क्षति पुग्ने गरी मनसुनजन्य विपद् घटना भएपछि सरकारले २३ असोजमा इलामलाई ३ महिनाका लागि ‘विपद् संकटग्रस्त’ घोषणा गरेको थियो।