माग पूरा नभएसम्म सरकारमा जाँदैनौं : सांसद चौधरी - Chaitanya News
  • 2026-05-07
  • 13:11:15
  • बिहिबार,बैशाख २४, २०८३
  • माग पूरा नभएसम्म सरकारमा जाँदैनौं : सांसद चौधरी

    माग पूरा नभएसम्म सरकारमा जाँदैनौं : सांसद चौधरी

    धनगढी– नागरिक उन्मुक्ति पार्टीले अगाडि सारेको तीन वटा माग पूरा नभएसम्म आफ्नो पार्टी सरकारमा नजाने सांसद गंगाराम चौधरीले बताएका छन।

    पार्टीका प्रमुख सचेतकसमेत रहनु भएका उनले आफ्नो पार्टीको बटमलाइन तीन वटा माग रहेको उल्लेख गरे।

    ‘टीकापुर घटनाको सम्बन्धमा लाल आयोगको छानबिन प्रतिवेदन सार्वजनिक, १०३ जनामाथि लगाइएको झुटा मुद्दा खारेजी र रेशम चौधरीसहित सात जना बन्दी जेलमुक्त नभएसम्म सरकारमा जाँदैनौं’, उनले भने।

    नागरिक उन्मुक्तिलाई महत्त्वपूर्ण मन्त्रालय दिनेसहित सरकारमा सहभागी हुन ‘अफर’ आइरहे पनि माग पूरा नभएसम्म सरकारमा नजाने उहाँको भनाइ थियो। ‘हाम्रो माग सरकारमा जाने होइन’, उनले स्पष्ट पारे। पार्टीले अघि सारेका तीन वटा माग पूरा भएमा संघ र प्रदेश दुवै तहको सरकारमा सहभागी हुने उनको भनाइ छ।

    नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधि सभामा चार जनाको प्रतिनिधित्व छ। यसैगरी सुदूरपश्चिम प्रदेश सभामा सात जनाको प्रतिनिधित्व रहेको छ। सुदूरपश्चिम प्रदेशमा सरकार बनाउनका लागि यो पार्टी निर्णायक देखिएको छ।