काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशको समृद्धिको साँचो हाम्रा युवाहरूको हातमा रहेको बताएका छन्।
आज (बिहीबार) दशरथ रंगशालामा आयोजित दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा मन्त्री पुनले यस्तो बताएका हुन्।
दीक्षित भएका विद्यार्थीहरूलाई शुभकामना दिँदै उनले अनवरत जिज्ञासा, कठोर परिश्रम र असफलतासँग जुधेर प्राप्त गरेको विजयको चिनारी नै अहिले प्राप्त गरेको उपाधि रहेको बताए।
‘२१औं शताब्दीको विश्वले अब ‘तपाईंसँग कुन डिग्री छ ?’ भन्दा पनि ‘तपाईं के गर्न सक्नुहुन्छ ?’ भनेर सोध्ने छ। त्यसैले, आफूलाई सधैं प्रश्न गर्नुहोस्,’ उनले भनेका छन्, ‘तपाईंको ज्ञान र सिपले समाजको कुन समस्या समाधान गर्न सक्छ ? विचार गर्नुहोस् – तपाईंको काँधमा यो देश अडिएको छ।’