तनहुँ जिल्ला प्रशासनः तीन महिनामा एक करोडभन्दा बढी राजस्व संकलन, ४३४ गुनासा फर्छ्यौट - Chaitanya News
  • 2026-05-02
  • 00:56:01
  • शुक्रबार,बैशाख १८, २०८३
  • तनहुँ जिल्ला प्रशासनः तीन महिनामा एक करोडभन्दा बढी राजस्व संकलन, ४३४ गुनासा फर्छ्यौट

    तनहुँ जिल्ला प्रशासनः तीन महिनामा एक करोडभन्दा बढी राजस्व संकलन, ४३४ गुनासा फर्छ्यौट

    तनहुँ– तनहुँ जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा रु. एक करोडभन्दा बढी राजस्व संकलन गरेको छ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार, संघसंस्था दर्ता र नवीकरण, हातहतियार नवीकरण र नामसारी, राहदानी दस्तुरलगायतबाट रु. एक करोड १८ लाख १५ हजार ८८५ राजस्व संकलन भएको छ।
    संघसंस्था दर्ता नवीकरणबाट रु.दुई लाख पाँच हजार ७००, हातहतियार नवीकरण र नामसारीबाट रु. तीन लाख दुई हजार २५०, राहदानी दस्तुरबाट रु.एक करोड ११ लाख ५८ हजार, न्यायिक दण्ड जरिवानाबाट रु. एक लाख ३५ हजार ४३५ राजस्व संकलन भएको उनले जानकारी दिए।

    ४३४ गुनासा फर्छ्यौट:
    यस्तै, चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालयमा ६१९ गुनासो दर्ता भएका छन्। विभिन्न माध्यमबाट कार्यालयमा गुनासो दर्ता गरिएको हो। प्रजिअ अधिकारीले सबैभन्दा बढी नागरिक एपमार्फत ५७२ गुनासो प्राप्त भएको जानकारी दिनुभयो। त्यस्तै कार्यालयमा निवेदनमार्फत ३४ र निमायक निकायबाट १३ गुनासो प्राप्त भएको उनले बताए । गुनासोमध्ये ४३४ गुनासो फर्छ्यौट गरिसकिएको उनले जानकारी दिए।

    सेवाग्राहीका सहजताका लागि कार्यालयले क्युआरकोडमार्फत गुनासो दर्ता गर्न सक्ने व्यवस्था गरे पनि क्युआरकोडमार्फत कुनै पनि गुनासो नआएको प्रजिअ अधिकारीको भनाइ छ। त्यस्तै हेलो सरकारमार्फत पनि गुनासो प्राप्त भएको छैन। प्रजिअ अधिकारीका अनुसार नागरिक एपमार्फत प्राप्त गुनासोमध्ये ३८७, कार्यालयमा निवेदन प्राप्तमध्ये ३४ र निमायक निकायमार्फत प्राप्त गुनासोमध्ये १३ गुनासो फर्छ्यौट भएका छन्।