राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास अन्तिम चरणमा - Chaitanya News
  • 2026-05-07
  • 23:52:34
  • बिहिबार,बैशाख २४, २०८३
  • राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास अन्तिम चरणमा

    राप्रपा र राप्रपा नेपालबीच एकता प्रयास अन्तिम चरणमा

    काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपाल पार्टी एकताको नजिक पुगेका छन्। दुवै दलका शीर्ष नेताहरूबीच केही दिनदेखि घनिभूत छलफल भइरहेको छ।

    त्यसको जानकारी राप्रपा नेपालका अध्यक्ष कमल थापाले सार्वजनिक कार्यक्रममार्फत नै दिएका छन्।

    पार्टी आबद्ध काठमाडौँ जिल्लास्तरीय जेन जेड फ्रण्टको भेलालाई सम्बोधनको क्रममा थापाले केही दिनभित्र ‘खुसीको समाचार’ सुन्न पाइने बताए।

    उनले भने, ‘सबै अनुकूल भएमा केही दिनभित्र खुसीको समाचार पनि सुन्न पाउनुहुनेछ, सबै एकै ठाउँमा बसी बलियो शक्ति निर्माण गर्नु आजको आवश्यकता हो।’

    थापाले जेन जेडहरूको अधुरो सपना पूरा गर्न बलियो राष्ट्रवादी शक्ति निर्माणमा जोड दिए।

    राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले पनि राप्रपा नेपालसँग छिट्टै एकता सहमति हुने सम्भावना रहेको बताए।

    उनले अरू राष्ट्रवादी शक्तिहरूलाई पनि एक ठाउँमा ल्याउने प्रयास भइरहेको छ।

    ‘सबै राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध बनाउने प्रयास स्वरूप पार्टीको वार्ता टोलीले संवाद गरिरहेको छ। त्यसमध्ये कमल थापा नेतृत्वको पार्टीसँग छिटै सहमति हुने सम्भावना छ,’ राप्रपा प्रवक्ता श्रेष्ठले भने, ‘केशरबहादुर विष्ट, दुर्गा प्रसाईँ लगायत अन्य शक्तिहरूलाई पनि राजतन्त्रको पक्षमा एकै ठाउँमा ल्याउने गरी प्रयास भइरहेको छ।’