काठमाडौं– त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमान्डु गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ।
आज (बिहीबार) भएको पहिलो खेलमा शाहब आलमले सानदार बलिङ गर्दै ६ विकेट लिएपछि पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गर्दै काठमान्डुले प्लेअफमा स्थान पक्का गरेको छ। साथै काठमान्ठुले शीर्ष दुईमा रहने सम्भावना पनि बलियो बनाएको छ।
लिग चरणमा ७ वटै खेल खेलिसकेको काठमान्डुले ५ जित र २ हारबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। लिगको बाँकी खेलको नतिजापछि काठमान्डु शीर्ष दुईमा रहने–नरहने पक्का हुनेछ।
उता ६ खेलमा चौथो हार व्यहोरेको पोखराको ४ अंक मात्र छ र प्लेअफ सम्भावना कठिन बनेको छ।
काठमान्डु गोर्खाजे दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा एभेन्जर्सले पूरै २० ओभर खेल्दै १० विकेट गुमाएर १५२ रन मात्र बनाउन सक्यो।
काठमान्डुका शाहब आलमले २०औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिँदै ह्याट्रिक पूरा गरेका थिए। शाहबले ४ ओभरमा २५ रन खर्चेर एक्लै ६ विकेट लिए। यस सिजन उनी ६ विकेट लिने पहिलो खेलाडी समेत बने।
पोखराका लागि ऋषि धवनले अर्धशतक प्रहार गरेपनि पर्याप्त भएन। उनले ३१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ५४ रन बनाए। यस्तै धनन्जय लक्षनले ३० रन जोडे।
५५ रनमा ४ विकेट गुमाएको पोखराका लागि धवन र धनन्जय लक्षन मिलेर पाँचौ विकेटका लागि ७६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए। तर यो साझेदारी ब्रेक भएपछि पोखराको रन गति पनि घटेको थियो।
लक्षनले २७ बल खेल्दै १ चौका र १ छक्का मद्दतमा ३० रन जोडे। कप्तान कुशल भुर्तेलले २२ र ज्यासन रोयले १६ रन जोडे।
बलिङमा काठमान्डुका शाहब आलमले ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिए। कप्तान करण केसी र सन्नी पटेलले दुईरदुई विकेट लिए।
त्यसअघि ओपनर बेन चार्ल्सवर्थ र भिम शार्कीको अर्धशतक मद्दतमा कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो।
ओपनर चार्ल्सवर्थले ५५ बलमा ६४ रन बनाए। एक छेउबाट निरन्तर विकेट जाँदा पनि अर्को छेउबाट काठमान्डुको इनिङ्स सम्हालेका उनले १९औं ओभरसम्म क्रिजमा बिताएका थिए। चार्ल्सवर्थले ५ चौका र २ छक्का प्रहार गरे।
यस्तै आक्रमक ब्याटिङ गरेका भीम शार्कीले एनपीएलमा यस सिजन संयुक्त रुपमा सबैभन्दा छिटो १९ बलमा अर्धतशक प्रहार गरे। भीमले २३ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५५ रन बनाए।
७९ रनमा ५ विकेट गुमाएको काठमान्डुका लागि चार्ल्सवर्थ र भीम शार्की मिलेर छैटौं विकेटका लागि ७६ रनको साझेदारी गरे।