काठमाडौँ– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले नेपाली जनताको अपेक्षा अनुसार सामाजिक, आर्थिक रूपान्तरणले फड्को मार्न नसकेको बताएका छन्।
आज (आइतबार) पोखरामा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका। यस्तै, उनले एकताको मर्मलाई आत्मसाथ गर्दै अघि बढ्न पनि आग्रह समेत गरेका छन्।
‘नेपाली जनताको अपेक्षा अनुसार सामाजिक आर्थिक रूपान्तरणले फड्को मार्न सकेन,’ उनले भने।
एकताको मर्मलाई आत्मसाथ गर्दै नेपालमा एउटै कम्युनिस्ट पार्टी पार्ने यो सपना साकार पार्न पनि उनले आग्रह गरेका छन्।
‘एकातिर हामी कम्युनिस्ट शक्तिलाई एकीकरण गर्ने प्रक्रियामा छौँ भने अर्कोतिर हामी नेपालका सबै देशभक्त शक्तिहरू र सुशासनको समृद्धिको पक्षप्रति इमानदारसँग सहकार्यको मोर्चा बनाउन अघि बढेका छौँ,’ उनले भने।
हिजो जुनसुकै घटक वा समूहमा भए पनि अब एक हुनुपर्ने बेला भएको उनको भनाइ थियो।
‘हिजो जुनसुकै घटक, समूहमा भए पनि अब हामी सबै एक भएका छौँ। हामी सबै घुलमिल हुनुपर्छ । हामी सबैले पार्टीलाई एकताबद्ध र क्रान्तिकारी बनाउन एकले अर्कोलाई सम्मान गर्नुपर्छ,’ उनले भने।
आफूहरू ठूलो शक्ति निर्माण गर्न चाहने उनको भनाइ थियो। ‘सघंर्ष अघि बढाउन चाहन्छौँ। संघर्षको मुख्य मोर्चा बनेको निर्वाचनमा पनि ध्यान दिनुपर्नेछ,’ उनले भने।