मौन धारण - Chaitanya News
  • 2026-11-09
  • 08:39:12
  • सोमबार,कार्तिक २४, २०८३
  • आमा सिकिस्त बिरामी परेको खबर त परै जाओस् आमाको मृत्यूको दु:खद खबर पनि थहा नपाउने छोरी हुन उनी।

    उनकी आमा बितेको खबर उनले सात दिन पछि मात्र थहा पाईन्। मान्छेका हात हातमा मोबाईल छन् । उनीसँग पनि एक सेट मोबाइल छ। तर उनको त्यो मोबाईल र उनको माईती गाउँतिर हात हातमा रहेका कुनै पनि मोबाईलले उनलाई उनकी आमा बितेको दु:खद खबर संप्रेषण गर्ने काम गर्न सकेनन्। यस्तो हुनको लागि पुरै गाउँका मोबाईलहरूको ब्याट्री डाउन भएर अवश्य होईन । तर मोबाईल बोक्नेका मनको ब्याट्री यति विधि डाउन भएको रहेछ। त्यसैले त होला नि उनकी आमा बित्दा कसैले पनि उनलाई खबर पुर्याउन चाहेन्।

    आमा वुवा विरामी पर्दा वा आमा वुवाको मृत्यू हुदा सबै भन्दा पहिले छोराछोरीहरूलाई नै यी पिडादायी खवर पुर्‍याउनु पर्छ। हाम्रा पारिवारिक, सामाजिक, साँस्कृतिक, धार्मिक, मूल्य, मान्यता र आस्था मात्र होईनन् रक्त नाताको सामिप्यता छोरा छोरी बुवा आमा भन्दा अरू को हुन सक्छ?

    तर यो नाताको नैसर्गिक धरातलमा हुने प्रहार र अवरोधहरू मान्छेका अति प्रिय, अति पूज्य, अति आदरणीय सम्बन्धहरूलाई अवसान हुन बाध्य गर्दछन्। हाम्रा समीप या टाढा यो भूगोलको अनेकौं भूखण्डहरूमा अनगिन्ती कैयौंपटक मान्छेका यी पृयतम सम्बन्धहरूको क्रुरतम अन्त्य गर्ने हामी समाज खोज्नेहरूको उद्यतपन पशुता भन्दा पनि निम्न छ।

    सहिरहेकी छन् उनले रक्त नाताको अवसान गराईएको असहनीय पीडालाई । मन फाटेको पीडा, मुटु चुडिएको दुखाइ, कलेजो टुक्रा टुक्रा हुँदाको नितान्त असहायपन भोग्ने अनेक नियतिहरूलाई सुनेर, देखेर चित्त बुझाईन उनले पनि। अन्तरजातीय प्रेम विवाह एक बाहुनकि छोरीले गर्नु हुदैनथ्यो भन्ने पश्चाताप यतिका अपमान, घृणा, पारिवारिक र सामाजिक उपेक्षा, बहिष्करणले उनलाई जति भित्र भित्रै गलाए पनि समाजका अगाडि उनी चट्टान बनेर बेअसर बनिरहिन।

    बरू उनको लोग्ने भने पश्चाताप गरिरहे।विवाहले दुई जना महिला पुरुषलाई जीवन साथी मात्र बनाउदैन। दुई परिवारलाई एउटा परिवार मात्र बनाउदैन, नया सम्बन्ध, नाता, नया सम्बन्धहरूलाई एकै छिनमा धेरै दह्रो आत्मिय बनाउछ । मैले कस्तो अन्याय गरेछु। तिमीलाई तिम्रा दाजुभाइ, दिदी बहिनी, आमाबुवा, आफन्त, इष्टमित्र कुटुम्ब सँग अलग गरे। मैले त तिमीलाई जन्मघरसंग सदाका लागि टाढा , मिलन हुनै नसक्ने गरि टाढा पो गरेछु,। यो समाजले बनाएको विभेदको पर्खाल भत्काउन प्रयत्न रह्यो भन्ने लाग्थ्यो उनका लोग्नेलाई उनीहरूको प्रेम विवाह । अब भत्काउन प्रयत्न गरिएको होईन रैछ भन्ने लाग्न थालेछ उनलाई। आमा बुवा दाजुभाइ दिदीबहिनी हरूका बिचमा निर्मम पर्खाल पो खडा गरेको रहेछु। लोग्ने पश्चातापले जलिरहे।

    विवाह पश्चात् उनले बाहुनकी छोरी हुँ भन्ने बिर्सिसकी रहिछन्।आमा जिवित हुदा नि उनका लागि पार्थिवतामा जिवित नाता व्यवहारमा मरिसकेको जस्तै थियो। आफ्ना दाजु भाइ आमा बुवासंग भेटघाट नभएको नि दुई दशक बढी समय बितिसकेको थियो। भेटघाट नहुनुको कारण केवल अन्तरजातीय विवाह नै हो। भेटघाट निषेधसम्ममा मात्र रोकिएन् क्रुरतम व्यवहारहरू।

    आफन्त दु:खका, बिरामीका र मृत्युका खवर, विवाह , व्रतबन्ध न्वारन लगायतका खुशीका अनेकौं उत्सवहरूमा उनलाई बिर्सन थालेको नि त्यतिबेलै देखि हो जहिले देखि उनी देशको कानूनले मान्यता दिएको तर सामाजिक जातियताले पूर्ण बन्देज गरेको वैवाहिक जिवनमा राजीखुशी साथ प्रवेश गरिन्। अनेक बेला माईती तिरका आफन्तीहरूको सहानुभूति, ढाडस, माया र सहयोग चाहिन्थ्यो उनी नितान्त एक्ली पर्थिन तर उनलाई कहिल्यै त्यस्तो निरीह महसुस गर्नुपरेको कसैले देख्नु परेन्। माईतीहरूको सम्झनाले उदास भएर, विरक्तिएर गलेको, निराश भएको कहिल्यै देखिएनिन।

    घटना अर्को फेरि संवेदनाहीन पो घट्यो त्यतिबेला जतिबेला उनका पिताको निधन भयो। सबै नाता, कुटुम्ब, ईष्ट मित्र, छिमेकी सबै उनका पिताको शवयात्रामा थिए। थिएन त उनका पति मात्र।

    कुरो यत्तिकैमा सकिएन। जब उनका पिताको चितामा आत्माविहीन देह राखियो र दागबत्ती दिने बेला आयो। एक जना पठित विद्वान लाग्ने मानिस अगाडी आए। सबै शवयात्रामा सहभागी मलामीहरूलाई अनुरोध गर्दै उत्तरपुस्तिकाको एक पेजमा केही लेखेर एक मिनेट दिवंगत आत्माको चिर शान्ति र बैकुण्ठ बासको कामनाका लागि मौन धारण गरिदिन भने।

    त्यो पेजमा दिवंगतका स्व. माता पिता, स्व. पत्नी, छोराहरू, छोरीहरू नाति नातिनीहरूसबैको नाम उल्लेख गरेर दिवंगतले आफ्नो पारिवारिक र सामाजिक कर्तव्य र व्यवहार अनुकरणिय रहेको भएर उनका पिताका सुकार्यको बखान गरियो। तर उनका सन्तानहरूको नामको लहरमा उनकी अन्तरजातीय अनुलोम विवाह गर्ने छोरीको नाम थिएन। केही भद्रजनहरू जसले एउटा मात्र छोरीको नाम छुटाउनु कुनै पनि दृष्टिले उचित नभएको ठहर त गरे तर त्यो भिरू जमातका संवेदनहीन मानिसहरूका अगाडि केही बोल्ने हिम्मत गर्न सकेनन।

    जीउँदै मान्छेलाई अघोषित मृत घोषणा गरिएको भन्ने कि यसलाई मानसिक पीडा सकेजती दिने हत्या भन्ने कि आफ्नै सन्तानलाई अस्वीकार, बहिस्कार, तिरस्कार गरिएको क्रुरतम् निर्मम उपेक्षा के भन्ने होला जे सुकै भने पनि यसरी विवाह गर्ने छोरा या छोरीलाई मरे सरह ठान्ने हाम्रो समाजको संवेदनाहीन प्रवृत्ति मान्छेलाई मान्छे हुन नदिने अमानवीय पाशविकता नै हो।

    यो घटना जसरी घट्यो यसको बारेमा उनले थहा पाईन भने यो पीडाले उनलाई स्तब्ध र मर्माहत बनाउने छ। मृत्यूमा शोक व्यक्त गर्न मौन धारण गर्ने मलामीहरूले पनि उनलाई मरे सरह ठान्नु के आधारमा सह्य हुन सक्छ? के हाम्रो समाजमा न्यायको निम्ति बोलिदिने कोही छैन? अन्यायलाई टुलुटुलु हेरेर निरीह हुने समाज हो हाम्रो?

    हाम्रो समाज राजनीतिक रूपमा अनेक विचारधारामा विभाजित छ। हरेकले आफूलाई अर्को भन्दा सामाजिक न्याय, समानता र स्वतन्त्रताका सवालमा उन्नत ठान्दछन। त्यतिबेला आर्यघाटमा सबै विचारधाराका राजनीतिक दलका नेता कार्यकर्ता मलामीका रूपमा उपस्थित थिए। अन्तरजातीय विवाह गर्ने उनलाई मृत ठान्ने दाजुभाई हरूलाई यतिसम्मको तिरस्कार उपेक्षा गर्नु कुनै पनि नाममा अपराध नै हो भनेर आफ्नो उन्नत विचारधारालाई मौन हुनु नै उचित ठाने। यी दलका नेता कार्यकर्ता आफ्ना दलहरूले देशको हरेक परिवर्तनमा नेतृत्व गरेको भनेर गौरव गर्छन। तर जिउदै निर्दोष मान्छेलाई मरेको ठान्ने र जातीय विभेद र छुवाछुत गर्ने समाजलाई परिवर्तन कहिले गर्न सक्लान?

    जे होस यो अप्रिय निर्मम क्रुर मौन धारणका बारेमा उनले थाहा पाएकी छैनिन। थाहा नपाएकै उचित।