शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान - Chaitanya News
  • 2026-06-03
  • 23:41:57
  • बुधबार,जेठ २०, २०८३
  • शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान

    शंकरदेव क्याम्पस नेविसंघद्वारा आयोजित कार्यक्रममा २०८ जनाले गरे रक्तदान

    काठमाडौं- नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले रक्तदान कार्यक्रमको आयोजना गरेको छ। नेविसंघ नेता मदनराज उपाध्यायको संयोजकत्वमा आयोजित कार्यक्रममा दुई सय ८ जनाले रक्तदान गरेका छन्। क्याम्पसमा नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै नेविसंघले रक्तदान कार्यक्रम गरेको हो।

    ‘रंग र खादा लगायर वा कुनै तामझामका साथ नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्नुभन्दा कुनै बिरामीका लागि जीवनदान हुनेगरि रक्तदान कार्यक्रमको आयोजना गरेर विद्यार्थी साथीहरूलाई स्वागत गरेका हौं,’ नेता उपाध्यायले भने। उनले थोरै भए पनि बिरामीहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको उनले बताए।

    कार्यक्रमका नेविसंघ क्याम्पस इकाई अध्यक्ष विवेक तामाङ प्रमुख अतिथि रहेका थिए। यस्तै शंकरदेव क्याम्पसका नेताहरू भुवन ओझा, कृष क्षेत्री, रविन कार्की, पवन ऐर, निरज बेलवासे, गजेन्द्र बम, केशव जोशी, भुवन भाट, प्रमोद पण्डितलगायतले आफ्नो धारणा राखेका थिए।

    नेविसंघ शंकरदेव क्याम्पस इकाई समितिले आगामी दिनमा पनि शैक्षिक गुणस्तर अभिवृद्धिका लागि दवाव दिनुका साथै यस्तै रचनात्मक काम गर्दैजाने जनाएको छ।