पाँच महीनामा व्यापार घाटा झण्डै ६ खर्ब रुपैयाँको वस्तु आयात - Chaitanya News
  • 2026-04-30
  • 12:52:13
  • बिहिबार,बैशाख १७, २०८३
  • पाँच महीनामा व्यापार घाटा झण्डै ६ खर्ब रुपैयाँको वस्तु आयात

    पाँच महीनामा व्यापार घाटा झण्डै ६ खर्ब रुपैयाँको वस्तु आयात

    काठमाडौं– चालू आर्थिक वर्ष २०७९–८० को पहिलो पाँच महीना (मंसीरसम्म)मा नेपालले भारत र तेस्रो मुलुकबाट ६ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात गरेको छ। यो गत वर्षको यही अवधिको आयातका तुलनामा २०.७१ प्रतिशत कम हो। बजारमा वस्तु र सेवाको माग घटेको तथा सरकारले पनि आयात निरुत्साहनको नीति अघि सार्दा आयात खस्किएको हो।

    आयात मात्रै होइन, निर्यात पनि उल्लेख्य घटेको छ। भन्सार विभागका अनुसार, मंसीरसम्म नेपालको निर्यात ६७ अर्ब ३० करोड रुपैयाँमा सीमित छ। यो बितेको वर्षको यही अवधिको तुलनामा ३४.६१ प्रतिशत कम हो। गत वर्षको यही अवधिमा नेपालले एक खर्ब तीन अर्ब हाराहारीको निर्यात गरेको थियो।

    आयात र निर्यात दुवै शिथिल हुँदा नेपालको अन्तर्राष्ट्रिय व्यापार गत वर्षको तुलनामा घटेको छ। यो आर्थिक वर्षको पहिलो पाँच महीनामा व्यापार घाटा १८.७७ प्रतिशतले घटेर पाँच खर्ब ९७ अर्बमा सीमित भएको छ।

    नेपाल जस्तो विदेशी मुद्रा आम्दानीको सीमित स्रोत भएको मुलुकको व्यापार घाटा खस्कनु सकारात्मक भए पनि बजारमा वस्तु र सेवाको मागमा भइरहेको कमीले अर्थतन्त्रमा सङ्कुचन आउन लागेको सङ्केत गर्छ। व्यवसायीहरूले मागमा कमी आएका कारण मुलुक आर्थिक मन्दीतर्फ जान लागेको बताउने गरेका छन्।

    मंसीरसम्म नेपालले एक खर्ब २३ अर्ब ६८ करोड मूल्यको कृषिजन्य वस्तु आयात गरेको छ। गत वर्षको यही अवधिमा एक खर्ब ८६ अर्ब ४७ करोडको आयात भएको थियो। गत वर्षको तुलनामा यो वर्ष कृषिजन्य वस्तुको आयात करीब एक तिहाइले घटेको छ। मंसीरसम्म २० अर्ब ३१ करोडको खाद्यान्न र १४ अर्ब ३१ करोडको तरकारी आयात भएको छ।

    मंसीरसम्म एक खर्ब ३४ अर्बको पेट्रोलियम पदार्थ, करीब ८४ अर्बको मशिन र विद्युतीय उपकरण, करीब ६४ अर्बको फलाम आयात भएको छ।