काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले जेनजी आन्दोलनमा उत्तरपुस्तिका जलेपछि होम सेन्टरमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा सीटीइभीटीको १४ हजार ७ सय वटा उत्तरपुस्तिका जलेको थियो।
सीटीइभीटीका प्रवक्ता टैलेन्द्र आचार्यका अनुसार जलेका तथा नष्ट भएका उत्तरपुस्तिकाहरुको सम्बन्धित शिक्षण संस्थामा परीक्षा केन्द्र (होम सेन्टर) कायम गरिएको छ। परीक्षा ४ मंसिरबाट हुने उनले बताए। ‘जलेर नष्ट भएकाको मात्र होम सेन्टरमा परीक्षा हुने हो। अरु परीक्षा केन्द्रमै हुन्छ,’ उनले भने।
सीटीईभीटीको कोशी र बागमती प्रदेश अन्तर्गतका डिप्लोमा, प्रमाणपत्र र प्रि–डिप्लोमा तहका परीक्षाको उत्तरपुस्तिका जलेको थियो। प्रहरी कार्यालयमा सुरक्षाका लागि राखिएका उत्तरपुस्तिका जलेर नष्ट भएको हो।
कोशी प्रदेशका ५ वटा परीक्षा केन्द्रमा २४ वटा शिक्षण संस्थाको र बागमती प्रदेशका १८ वटा परीक्षा केन्द्रमा ८० वटा शिक्षण संस्थाको उत्तरपुस्तिका जलेर नष्ट भएको छ। केही उत्तरपुस्तिकामा आंशिक क्षति पुगेको छ। कोशीका पाँच केन्द्रको उत्तर पुस्तिकामा नियमिततर्फ १ हजार ९३७ वटा र आंशिकतर्फ १ हजार ६५० गरी ३ हजार ५८७ वटा उत्तर पुस्तिका जलेको छ।
बागमतीका १८ वटा केन्द्रको ११ हजार २०३ वटा गरी जम्मा १४ हजार ७९० वटा उत्तरपुस्तिका जलेको छ। तर यो विद्यार्थी संख्या भने होइन। प्रवक्ता आचार्यका अनुसार, एउटै विद्यार्थीको एकभन्दा बढी उत्तरपुस्तिका जलेको छ।
प्रवक्ता आचार्यका अनुसार अन्य स्थगित परीक्षाहरू मिति कात्तिक ३० देखि मंसिर ३ गतेसम्म पूर्व निर्धारित केन्द्रमा परीक्षा संचालन गरिने छ।
त्रिभुवन विश्वविद्यालयको ६५२ जना विद्यार्थीको उत्तर पुस्तिका जलेको छ। त्रिविको स्नातक तहको दोस्रो वर्षको आंशिक र मौका परीक्षाको उत्तरपुस्तिका जलेको हो। परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीका अनुसार तीन वटा परीक्षा केन्द्रको उत्तरपुस्तिका जलेको छ।
जलेकाको परीक्षा आगामी मंसिर ४ र ५ गते परीक्षा केन्द्रमा सञ्चालन हुने त्रिविले जनाएको छ। त्रिविले भने होम सेन्टरको व्यवस्था गरेको छैन। अरु स्थगित भएको परीक्षा भने कात्तिक २४ गतेदेखि सञ्चालन हुने परीक्षा नियन्त्रक सूर्यकान्त कलौनीले बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार जलेर नष्ट भएकाको पुनः परीक्षा गर्न १ करोड बढी खर्च हुने छ। मन्त्री महावीर पुनले जेनजी आन्दोलनको क्रममा उत्तरपुस्तिका जलेसँगै पुनः परीक्षा गर्न खर्चिलो हुने बताएका हुन्। मन्त्री पुनका अनुसार आन्दोलनमा उत्तरपुस्तिका जलेकाले फेरि परीक्षा गर्न १ करोड ७५ लाख खर्च हुने छ।