काठमाडौँ– आज (आइतबार) नेपाल राष्ट्र बैंकले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब ६० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूको मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ।
राष्ट्र बैंकले एक सूचना मार्फत इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूसँग ब्याजदरसहितको प्रस्ताव आह्वान गरेको छ।
सूचना अनुसार यो लगानी ३६६ दिन (२०८२ मंसिर २४ देखि २०८३ मंसिर २४ सम्म) का लागि हुनेछ। कुल लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरुका लागि सबैभन्दा धेरै २ अर्ब ८ करोड रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरूका लागि ३९ करोड रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरूका लागि १३ करोड रुपैयाँ लगानी गरिनेछ। इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आफूले लिन चाहेको रकम र त्यसमा प्रस्ताव गर्ने ब्याजदर खुलाई २०८२ कात्तिक १८ गते साँझ ७ बजेभित्र प्रस्ताव पेस गरिसक्नुपर्नेछ।
राष्ट्र बैंकको कोषबाट लगानी प्राप्त गर्न बैंक तथा वित्तीय संस्थाहरूले केही महत्त्वपूर्ण सर्तहरु पूरा गरेको हुनुपर्नेछ। जसमा सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्क्रिय कर्जा कुल कर्जाको ८ प्रतिशत र खुद निष्क्रिय कर्जा ३ प्रतिशतभन्दा कम भएको, पछिल्लो आर्थिक वर्षमा खुद मुनाफामा रहेको, राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्नेछ।