कर्णालीका हिमाली जिल्लामा भारी हिमपात भएपछि ८ प्रहरी चौकी सदरमुकाम सारिँदै - Chaitanya News
  • 2026-05-02
  • 14:31:35
  • शनिबार,बैशाख १९, २०८३
  • कर्णालीका हिमाली जिल्लामा भारी हिमपात भएपछि ८ प्रहरी चौकी सदरमुकाम सारिँदै

    कर्णालीका हिमाली जिल्लामा भारी हिमपात भएपछि ८ प्रहरी चौकी सदरमुकाम सारिँदै

    सुर्खेत– कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात भएपछि त्यस क्षेत्रका प्रहरी चौकी सदरमुकाम सार्न थालिएको छ। प्रदेशका तीन हिमाली जिल्लाका ८ वटा प्रहरी चौकी सदरमुकाम सार्न थालिएको हो।

    प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपात भएपछि अत्यधिक चिसो बढेको छ। हिउँ पर्न सुरु भएपछि प्रहरी चौकी सदरमुकाम स्थानान्तरण गर्न थालिएको प्रदेश प्रहरी प्रमुख डिआइजी माधव श्रेष्ठले जानकारी दिए।

    उनका अनुसार डोल्पाका ६, हुम्ला र मुगुको एकरएक वटा प्रहरी चौकी सार्न थालिएको छ। ‘हिमपात र चिसो बढेपछि त्यहाँका स्थानीयहरू पनि सदरमुकाम झर्ने गरेका छन्’ डिआइजी श्रेष्ठले भने, ‘स्थानीय तहको समन्वय र जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार प्रहरी चौकी स्थानान्तरण गरिएको छ।’

    प्रदेशका ८ वटा प्रहरी चौकी स्थानान्तरण गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालयबाट समेत अनुमति लिइएको डीआईजी श्रेष्ठले बताए। हिमापात रोकियो र स्थानीयहरू गाउँ फर्किन थाले पछि जति बेला पनि ती चौकीहरू फर्काउन सकिने प्रदेश प्रहरीले जनाएको छ।

    प्रदेश प्रहरीका अनुसार हुम्लाको नाम्खा–६ का तिल, हल्जी र जाङको सुरक्षामा खटिएको प्रहरी टोली सिमकोट आइपुगेको छ। यस्तै उपल्लो डोल्पाका ६ वटा प्रहरी चौकी पनि सदरमुकाम दुनैमा सार्न सुरु गरिएको छ।

    माथिल्लो डोल्पाको डोल्पोबुद्ध, छार्काताङसोङ र शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा रहेका प्रहरीहरु सदरमुकाम झर्ने काम भइरहेको छ। माथिल्लो डोल्पामा रहेका इलाका प्रहरी कार्यालय नाम्दो, तिन्जे, भिजेर, धो, बेश टास्की र राप प्रहरी चौकी दुनैमा सारिएको छ। त्यस्तै मुगुको इलाका प्रहरी कार्यालय मुगुमलाई सदरमुकाम सारिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

    हिउँदमा हिमपात र चिसोले ज्यानकै जोखिम हुने भएकाले उच्च हिमाली क्षेत्रमा राखिएका चौकीलाई सुरक्षित र पायक पर्ने प्रहरी कार्यालयमा सार्ने गरिएको छ। हिमाली गाउँहरूमा मानिसहरूको आवतजावत नै रोकिने भएपछि प्रहरी चौकीमा रासन पानीको व्यवस्था गर्नसमेत कठिन हुने गरेको डिआइजी श्रेष्ठले बताए।

    ‘ती चौकीहरूमा आवश्यक परेको खण्डमा जति बेला पनि खटाउन सकिन्छ। तर आवश्यक छैन भने अब एकै पटक वैशाख, जेठतिर फर्किन्छन्,’उनले भने।