वर्षा र हिमपात भइरहेका उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह - Chaitanya News
  • 2026-05-02
  • 17:04:22
  • शनिबार,बैशाख १९, २०८३
  • वर्षा र हिमपात भइरहेका उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह

    वर्षा र हिमपात भइरहेका उच्च हिमाली क्षेत्रमा कात्तिक १५ गतेसम्म यात्रा नगर्न प्रशासनको आग्रह

    सङ्खुवासभा– सङ्खुवासभामा वर्षा र हिमपात भइरहेकाले उच्च हिमाली क्षेत्रका पर्यटकीय पदमार्गमा यात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

    आज (बिहिबार) कार्यालयले एक सूचना जारी गर्दै कात्तिक १५ गतेसम्म मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्न अनुरोध गरेको हो।

    प्रतिकूल मौसमका कारण मङ्गलबार देखि मकालु आधार शिविरसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेकाले पर्यटकलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले बताए।

    निरन्तर वर्षा र हिमपात भइरहेकाले कात्तिक १५ गतेसम्म उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न उहाँले सबैमा अनुरोध गरे।

    उत्तरी क्षेत्रको चार हजार भन्दामाथि निरन्तर हिमपात भइरहँदा चिसो बढेको, खाद्यान्न र अन्य अत्यावश्यक सामग्रीसमेत अभाव हुनसक्ने भन्दै मकालु आधार शिविर तथा उत्तरी हिमाली क्षेत्रका पदमार्गमा यात्रा नगर्नु उपयुक्त हुने प्रजिअ थपलियाको भनाइ छ।

    मकालु आधार शिविरमा नेपालीसहित दुई सय भन्दा बढी पर्वतारोही शिविरमा रहेका प्रशासनले जनाएको छ। प्रमुख जिल्ला अधिकारी थपलियाका अनुसार सत्तरी जना विदेशी नागरिकसहित दुई सयभन्दा बढी नेपाली पर्वतारोही अहिले आधार शिविरमा छन्।

    जिल्लाको मकालु, सभापोखरीसहित उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको उनले जानकारी दिए ।निरन्तर वर्षा भइरहँदा पहिरो जानसक्ने तथा सडक अवरुद्ध हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत प्रशासनले सबैमा अनुरोध गरेको छ।

    पहिरोको जोखिममा रहेका परिवारलाई सचेत रहन आग्रह गर्दै प्रजिअ थपलियाले उच्च जोखिममा रहेका परिवारको स्थानान्तरणमा सहजीकरण गर्न १० वटै स्थानीय तहका प्रमुख तथा जनप्रतिनिधिलाई आग्रह गरे।

    बाढीपहिरोको जोखिम भए वा विपद्को जोखिमको सम्भावना भएमा जिल्ला प्रहरी कार्यालय वा जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।