काठमाडौं– कप्तान रोहित पौडेलले शतक बनाएपछि आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ।
दुबईस्थित आईसीसी एकेडेमीमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएर यूएईलाई २३४ रनको लक्ष्य दिएको हो।
रोहितले १३० बलमा १०९ रन बनाए। ओडिआईमा उनको यो दोस्रो शतक हो। त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए।
यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए। जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए। मुहम्मद रोहिद र हैदर अलीले १–१ विकेट लिए।
यूएईसँग नेपालले हालसम्म १५ पटक ओडिआईमा खेलेको छ। नेपाल ९ खेलमा विजयी हुँदा यूएईले ६ खेल जितेको छ।