काठमाडौँ– देशभरि अचानक मौसममा आएको बदली र आगामी केही दिनसम्म भारी वर्षाको सम्भावना मध्यनजर गर्दै किसानहरूलाई कृषि कर्म गर्दा विशेष सावधानी अपनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आग्रह गरेको छ।
पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले मंगलबार विभिन्न स्थानमा वर्षा र हिमपात भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी दुई दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले किसानलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको हो।
मन्त्रालयले मौसमको पूर्ण जानकारी नलिई तत्कालका लागि कुनै पनि कृषि कार्य नगर्न किसानलाई सुझाएको छ। विशेष गरी धान काट्ने र बीउ भण्डारण गर्ने कार्यमा सचेत रहन भनिएको छ।
भोलि बुधबारसम्म पानी पर्ने सम्भावना रहेकाले धान काट्ने कार्य केही दिनका लागि स्थगित गर्न र यदि धान काटिसकेको छ भने धान र पराल सुरक्षित स्थानमा भण्डारण गर्न अनुरोध गरिएको छ।
त्यस्तै तरकारी, तोरी र आलुको बीउ छर्ने वा रोप्ने किसानलाई बीउ छर्नु वा रोप्नुअघि सतर्कता अपनाउन र विशेष ध्यान दिन भनिएको छ।
ठूलो वर्षाका कारण भर्खरै रोपिएका बीउ बगाउन सक्ने वा माटोबाट उखेलिन सक्ने जोखिम रहने हुनाले बीउ र बालीको क्षतिबाट बच्न केही दिन पर्खिन र रोपिसकेको भए ब्याडमा प्लास्टिक छापो लगाउन उपयुक्त हुने मन्त्रालयले जनाएको छ।
कृषि मन्त्रालयले सम्भावित क्षतिबाट बच्न किसानलाई स्थानीय सञ्चारमाध्यमहरू र सामाजिक सञ्जाल मार्फत पनि यस्ता सचेतनामूलक सन्देश प्रवाह गर्ने गरेको छ।
किसानलाई स्थानीय मौसम पूर्वानुमान र कृषि सल्लाहका लागि सम्बन्धित निकायसँग निरन्तर सम्पर्कमा रहन पनि आग्रह गरिएको छ।