काठमाडौँ– राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफ्नो कारणले देश बिग्रिएको भए आफू देश छोड्न तयार रहेको बताएका छन्।
आज (आइतबार) काठमाडौँको बानेश्वरस्थित एभरेस्ट होटेलमा पत्रकार सम्मेलन गर्दै उनले त्यस्तो भनाइ राखेका हुन्।
उनले भने, ‘दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने म रेडी, म जान तयार छु। मलाई लोभ छैन। मलाई केही चाहिँदैन।’
कार्यक्रममा उनले आफू सुध्रिन तयार भएकोसमेत बताएका छन्। आफू २०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले यहाँसम्म आइपुगेको चर्चा गर्दै जानेर नजानेर जेजे गरे पनि अब सुध्रिएर देश बनाउन लाग्नुपर्ने बताएका हुन्।
‘हिजो जे भयो(भयो, आफैँले बाटो बिर्सियौँ। सबैले भुल्यौँ। अब त कमसेकम देश जोगाऔँ, देश भुंग्रोमा गएको छ, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔँ। मान्छेले न्यानोपन खोजेको छ। अब यसमा सुध्रिन पर्नेछ।’ उनले भने ।