काठमाडौं– सरकारले नेपाली नोटमा नेवाल संवत् उल्लेख गर्ने तयारी अघि बढाउने भएको छ।
आज (बुधबार) नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला काकीले यसबारे जानकारी गराएकी हुन्।
सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता उनले सम्बोधनको क्रममा गरेकी हुन्।
‘नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री कार्कीले भनिन्।
११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा शंखधर सास्ख्वाले गरिबी र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरिदिएका थिए।
शंखधरलाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवत घोषणा गरिएका थियो।
सास्ख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको बताउँदै प्रधानमन्त्री कार्कीले सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न हामी सबैलाई प्रेरणा मिल्ने बताइन्।
‘यो दिन नै नेपाल संवतको शुभारम्भको आधार हो,’ उनले भनेकी छिन्।
सरकारी कार्यालयमा पनि नेपाल संवतको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित मन्त्रालय मार्फत थप निर्देशन दिने वचन प्रधानमन्त्री कार्कीले दिएकी छिन्। साथै, उनले अनुगमनको लागि प्रतिष्ठानसँग सहकार्य गर्न चाहेको पनि बताइन्।