सभामुख घिमिरेले भने: ‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’ - Chaitanya News
  • 2026-10-29
  • 09:55:55
  • बिहिबार,कार्तिक १३, २०८३
  • सभामुख घिमिरेले भने: ‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’

    सभामुख घिमिरेले भने: ‘नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो’

    काठमाडौँ– प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल सम्वत् ११४६ ले सबैलाई संवैधानिक उपलब्धिको रक्षा गर्दै समुन्नत, समावेशी र सुशासित नेपाल निर्माणतर्फ एकजुट भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन्।

    नेपाल सम्वत् ११४६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उक्त कामना गरेका हुन्।

    सभामुख घिमिरेले मौलिक इतिहास बोकेको यो सम्वत्ले नेपालीहरूमा सहिष्णुता, भाइचारा, सामाजिक सद्भाव र राष्ट्रिय एकता अभिवृद्धि गर्दै विविधतामाथि एकताको भावना बलियो पारोस् भन्ने कामना गरेका छन्।

    “युवाहरूले उठाएका भ्रष्टाचार अन्त्य र सुशासनका आवाजहरूले देशको भविष्यप्रति नयाँ संकल्प गर्न जरुरी देखिएको छ”, सभामुखले भने “ती अपेक्षाहरू पूरा गर्न साझा प्रतिबद्धता, पारदर्शिता र उत्तरदायित्वपूर्ण नेतृत्व आवश्यक छ भन्ने विश्वास व्यक्त गर्दछु।“

    सभामुख घिमिरेले युवा पुस्ताको आन्दोलनपछि मुलुकमा शान्ति र स्थायित्व प्राप्त गर्ने प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याउनका लागि सरकार, राजनीतिक दलहरू, युवा पुस्ता, नागरिक समाज र सम्पूर्ण नेपाली जनताबीचको साझा सहकार्य अपरिहार्य छ भन्ने विश्वास व्यक्त गरेका छन्।

    “नेपाल सम्वत् हाम्रो स्वाभिमान, स्वतन्त्रता र राष्ट्रिय पहिचानको प्रतीक हो”, उनले भने, “राष्ट्रिय विभूति शङ्खधर साख्वास्ले ऋणमा डुबेका नेपाली जनतालाई मुक्ति दिलाई स्वतन्त्र र सम्मानजनक जीवनको आधार तयार गरेको ऐतिहासिक सम्झनामा नेपाल सम्वत् मनाउने गरिएको छ।” उनले नेपाल सम्वत्को अवसरमा सबै नेपाली ऋणमुक्त हुँदै आर्थिक समृद्धि, आत्मनिर्भर र सुखी बन्न सकुन् भन्ने शुभेच्छा प्रकट गरेका छन्।