सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने - Chaitanya News
  • 2026-05-21
  • 00:41:50
  • बुधबार,जेठ ०६, २०८३
  • सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

    सरकारले तोकेको धानको मूल्य व्यापारीले कार्यान्वयन नगरे कारवाही गरिने

    कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले तोकेको धानको समर्थन मूल्य व्यापारीले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याइने बताएका छन्।

    किसानबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासोआएपछि उनले किसानहरुले धानको समर्थन मूल्य पाएरनपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए।

    उनले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई टेलिफोन सम्पर्क गरी अनुगमन गर्न निर्देशन दिए।

    उनले सरकारले तोकेको समर्थन मूल्य व्यापारीहरुले कार्यान्वयन नगरेको पाएइमा कारवाहीको दायरमा ल्याउन निर्देशन दिए।

    मुख्यमन्त्री शाहले सरकारले निर्धारण गरेको धानको मूल्य किसानले पाउनुपर्नेमा जोड दिए।

    यसअघि २०८२ असोज ३१ गते प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सार्वजनिक सूचनामार्फत मोटो धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ दशमलव ८१ र मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ दशमलव ३३ रुपैयाँ निर्धारण गरिएको जानकारी दिए।

    साथै उनले सूचनामा सरकारले निर्धारण गरेको समर्थन मूल्यमा धान खरिद बिक्री गर्न र सरकारको निर्णय कार्यान्वयन गराउन सबै पालिकालाई आग्रह गरे।

    प्रमुख जिल्ला अधिकारी लम्सालले छठ लगत्तै कैलालीका सबै स्थानीय तहहरुमा अनुगमन गर्ने बताए।