काठमाडौँ– राजस्व समूहअन्तर्गत राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) र तृतीय श्रेणी (शाखा अधिकृत) पदका लागि आवश्यक शैक्षिक योग्यता संशोधन गरिएको छ।
आज (मंगलबार) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै निजामती सेवा ऐन, २०४९ को दफा ७५ अन्तर्गतको अधिकार प्रयोग गरी सो परिवर्तन गरेको जनाएको छ। सो दफामा नेपाल सरकारलाई निजामती सेवाका विभिन्न समूह र श्रेणीका लागि नियम बनाउन सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले नेपाल प्रशासन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियमावली, २०५० को अनुसूची–४ खण्ड ‘घ’ को क्र.सं. १ र २ मा संशोधन गर्दै शैक्षिक योग्यताको नयाँ व्यवस्था गरेको हो।
नयाँ प्रावधानअनुसार, उपसचिव पदका उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन (सार्वजनिक वित्त वा लेखा विषयसहित) मध्ये कुनै एक विषयमा स्नातकोत्तर डिग्री प्राप्त गरी ऐनको दफा ७ को उपदफा (१६)बमोजिमको अनुभव हासिल गरेको हुनुपर्नेछ।
त्यसैगरी, शाखा अधिकृत पदका लागि उम्मेदवारले मान्यता प्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र वा जनप्रशासन विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।
![]()