काठमाडौँ– आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा आज नेपाल जापानसँग भिड्ने भएको छ ।
नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ विकेटले पराजित गरेसँगै जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्।
लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो।
अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ। समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ।
यसैगरी विश्वकप छनोटका तीन खेल आजै हुँदैछ। आइसीसी पुरुष टी–२० विश्वकप छनोटमा आज तीन खेल हुँदैछन्।
आज पहिलो खेलमा बिहान पौने १२ बजे मलेसिया र संयुक्त अरब इमिरेट्स, दोस्रो खेलमा दिउँसो ४ः१५ बजे नेपाल र जापान तथा तेस्रो खेलमा राति ८ः४५ बजे ओमान र पपुवा न्यूगिनी खेल्नेछन्।