धनगढी–समाजप्रतिको उत्तरदायित्व र सहयोगी भावना बोकेको चैतन्य पाठशालाले जेन्जी आन्दोलनपछि क्षतिग्रस्त भएका सरकारी निकायहरूलाई प्रविधि सहयोगका रूपमा कम्प्युटर हस्तान्तरण गरेको छ ।
विद्यालयको सामाजिक विभागको पहलमा चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाको उपस्थितिमा कैलाली जिल्ला कारागार, गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका वडा न.१३ लाई एक-एक थान कम्प्युटर कार्यालयमै पुगेर हस्तान्तरण गरिएको हो ।
हालैको जेन्जी आन्दोलनका क्रममा कैलालीका विभिन्न सरकारी कार्यालयहरूमा रहेको सूचना प्रविधि सामग्रीहरु क्षतिग्रस्त भएपछि सेवा प्रवाहमा कठिनाइ आएको थियो। सोही पृष्ठभूमिमा चैतन्य पाठशालाले तीन वटा स्थानीय निकायलाई कम्प्युटर हस्तान्तरण गरी प्रशासनिक कामकाजमा सहजता ल्याउने र डिजिटल प्रणालीलाई पुन सञ्चालन गर्न सहज होस भन्ने उद्देश्यले कम्प्युटर हस्तान्तरण गरेको जनाएको छ ।
विद्यालयका प्राचार्य ओझाका अनुसार, सामाजिक उत्तरदायित्वलाई शिक्षा प्रणालीको अभिन्न हिस्सा बनाउने लक्ष्यका साथ चैतन्य पाठशाला निरन्तर क्रियाशील रहँदै आएको छ । उनले भने, “हामी विद्यार्थीहरूलाई केवल पाठ्यक्रमीय ज्ञान होइन, मानवीय मूल्य र सामाजिक चेत पनि सिकाउँदै आएका छौँ। यस किसिमका कार्यहरूले उनीहरूमा जिम्मेवार नागरिकको भावना विकास गर्न मद्दत गर्छ।”
यस किसिमको सहयोगले निजी शैक्षिक संस्थाहरू समाजप्रतिको भूमिकामा पनि अग्रसर बन्ने सन्देश दिएको छ। चैतन्य पाठशालाले यस अघि जिल्ला प्रशासन कार्यलय कैलालीमा तीन थान कम्प्युटर र गौरिगंगा नगरपालिकालाई एक थान प्रिन्टर पनि सहयोग प्रदान गरी सकेको छ ।