काठमाडौं– मुलुककै सबैभन्दा ठूलो तरकारी बजार काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौँलामा अत्यधिक मात्रामा विषादी भेटिएको छ।
मकवानपुरबाट कालीमाटी तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सीमा ४५.५९ प्रतिशत, धादिङबाट ल्याइएको घिरौँलामा ६५.०३ र काठमाडौंमै उत्पादित काँक्रोमा ५२.९२ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।
केन्द्रीय कृषि प्रयोगशालाले बिहीबार कालीमाटी तरकारी बजारका १५ पसलको १५ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो।
परीक्षण क्रममा हरियो फर्सी, काँक्रो र घिरौँलामा उक्त मात्रामा विषादी भेटिएको हो। विषादीको मात्रा धेरै भेटिएका यी तरकारी उपभोग अयोग्य रहेको समितिले जनाएको छ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोगयोग्य मानेको छ। ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ।
यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ।
यसअघि असार अन्तिम साता पनि पनि रायो साग, घिउसिमी लगायत तरकारीमा अत्यधिक मात्रामा विषादी भेटिएको थियो।