महेश बस्नेतले भने: हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ - Chaitanya News
  • 2026-05-10
  • 04:46:44
  • शनिबार,बैशाख २६, २०८३
  • महेश बस्नेतले भने: हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ

    महेश बस्नेतले भने: हिम्मत भए केपी ओलीलाई पक्रेर देखाउ

    काठमाडौं– नेकपा एमालेका पोलिटव्यूरो सदस्य महेश बस्नेतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेर देखाउन वर्तमान सरकारलाई चुनौती दिएका छन्।

    आज (बुधबार) पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै बस्नेतले हिम्मत भए केपी शर्मा ओलीलाई पक्राउ गर्न चुनौती दिएका हुन्। ‘तिम्रो बाउको हिम्मत छ भने केपी ओलीलाई पक्राउ गर । तिम्रो बाउको हिम्मत छ भन्ने शब्द नराम्रो हो त,’ बस्नेतले भने, ‘केपी ओली दोषी हुनुहुन्छ र तिम्रो बाउको हिम्मत छ भने पक्राउ गरेर देखाऊ।’

    जेनजी युवा आन्दोलनमा दमन गरेको आरोपमा उनीमाथि केही जेनजी अगुवाहरुले प्रहरीमा मंगलबार उजुरी दिएका थिए। सो उजुरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा फरवार्ड गरेको थियो।

    त्यसको भोलिपल्ट बस्नेतले ओलीलाई पक्राउ गरेर देखाउन चुनौति दिएका हुन्।

    दलका नेताहरुमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु गरिएको विषयमा पनि बस्नेतले आक्रोश पोखे। उनले युवाहरुको बलमा सत्तामा पुगेकाहरुमाथि पनि अनुसन्धान गर्नुपर्ने बताए। उनले अर्थमन्त्री रामेश्वर खनाल र ऊर्जामन्त्री कुलमान घिसिङको नामै लिएर पहिले उनीहरुबाट अनुसन्धान सुरु गर्नुपर्ने बताए।

    अरुलाई यत्तिकै भ्रष्टाचारी भनेर आरोप लगाउन नपाइने उनको भनाइ थियो। यसो भन्दै गर्दा आफूहरु ‘दूधले नुहाएको’ नभएको भन्दै उनले भने, ‘हामी एकदमै ओभानो पनि छैनौं। हामी दूधले नुहाएको भनेका पनि छैनौं। यति त भन्न पाइयो नि त। महेश बस्नेत भ्रष्टाचारी हो भने कारबाही गर। होइन भने त भ्रष्टाचारी हो भनेर आरोप लगाउन पाइन्छ त ?

    जेनजी युवा आन्दोलन र त्यसपछिको परिस्थितिको विषयमा ओलीले युवा संघको कार्यक्रममा धारणा राखिसकेको उल्लेख गर्दै बस्नेतले अरु नेताहरुको पनि धारणा सार्वजनिक हुने बताए।

    ‘भोलि पार्टीका महत्वपूर्ण नेताहरुले धारणा राख्नुहुन्छ। २४ गते सचिवालय र २७ गते केन्द्रीय कमिटीको बैठक छ। यो महिनाको अन्तिमसम्ममा एमालेले आफ्ना अफिसियल धारणा सबै सार्वजनिक गर्दछ।’