काठमाडौं– दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ। नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) घटेको हो। सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ। कुल ४ अर्ब ६२ करोडको कारोबार भयो।
१६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो। सबै समूहका सूचक घटेका छन्। अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो। नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो।
बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटे।
भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो। नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशत घट्यो।
आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखियो। मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे। सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९.११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो।
आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट छन्।