आज ९० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक - Chaitanya News
  • 2026-05-17
  • 09:00:37
  • आइतबार,जेठ ०३, २०८३
  • आज ९० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

    आज ९० अर्ब तरलता खिच्दै नेपाल राष्ट्र बैंक

    काठमाडौं– नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत आज (मंगलबार) राष्ट्र बैंकले ९० अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो।

    केन्द्रीय बैंकले १२ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको जनाएको छ।

    राष्ट्र बैंकले आइतबार र बुधबार नियमित पैसा झिक्दै आएकामा दसैं बिदापछि कार्यालय खुलेको पहिलो दिन मंगलबार भए पनि बजारबाट पैसा खिच्न लागेको हो।

    बजारबाट पैसा निकाल्नका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न आह्वान गरेको छ।

    बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ।

    निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकको भनाइ छ।

    निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने छ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।