काठमाडौँ– बाढीपहिरोलगायतका विपद्का घटनामा घाइतेको संख्या बढिरहेका बेला रगतको अभाव हुन नदिन नयाँ बानेश्वरस्थित शंखमूलमा रहेको चैतन्य एकेडेमीले वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ।
‘रक्तदान, जीवनदान मानवसेवाको लागि चैतन्य अभियान’ भन्ने मूल नाराका साथ बिहीबार आयोजित कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थी, कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका छन्।

हालै भोटेकोशीमा आएको बाढीमा परी घाइते भएकाहरूको उपचारमा सहयोग पुर्याउनुका साथै देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण घाइते हुनेको संख्या बढिरहेका अवस्थामा रगतको सम्भावित अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको एकेडेमीले जनाएको छ।
एकेडेमीका अनुसार विपद्का बेला आकस्मिक उपचारका लागि रगतको आवश्यकता बढ्ने भएकाले युवाहरूलाई रक्तदानमा सहभागी गराउने उद्देश्यले कार्यक्रम गरिएको हो। साथै देश र परिवर्तनका लागि प्राण आहुति दिने वीर जेनजी शहीदहरूप्रति सम्मान प्रकट गर्ने उद्देश्यसमेत कार्यक्रमसँग जोडिएको छ।

कार्यक्रममा सहभागी धेरै विद्यार्थीले पहिलोपटक रक्तदान गरेको बताएका छन्। उनीहरूले रक्तदानबाट अरूको जीवन बचाउन सहयोग पुग्ने भएकाले आगामी दिनमा पनि नियमित रक्तदान गर्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले अन्य युवाहरूलाई समेत रक्तदानजस्तो मानवीय सेवाको कार्यमा सहभागी हुन आग्रह गरेका छन्।
चैतन्य एकेडेमी स्थापना भएदेखि नै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न स्थानमा रक्तदानलगायतका सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। एकेडेमीको केन्द्रीय कार्यालयमा भने यो दोस्रोपटक रक्तदान कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रममा ४० जना भन्दा बढीले रगत दान गरेका थिए ।
हेर्नुहोस् तस्विरहरु:

