भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, १ हजार ३२५ को पहिचान हुन बाँकी - Chaitanya News
  • 2026-09-08
  • 12:53:45
  • मंगलबार,भाद्र २३, २०८३
  • भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, १ हजार ३२५ को पहिचान हुन बाँकी

    भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, १ हजार ३२५ को पहिचान हुन बाँकी

    काठमाडौँ– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा मृतकको पहिचानका लागि डीएनए नमुना संकलन र खोजी कार्यलाई तीव्रता दिइएको छ। मंगलबार दिउँसो ११ बजेसम्म मृतक तथा आफन्तका गरी २ हजार ५ सय ७० वटा डीएनए नमुना संकलन गरिएको नेपाल प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार २ सय ९० वटा नमुना संकलन गरिएको हो। बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३ सय ५६ जनाको शव फेला परेको छ।

    फेला परेका शवमध्ये रसुवामा १६९, नुवाकोटमा १९६, धादिङमा ७०, चितवनमा ३६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२३ र नवलपरासी पश्चिममा २२२ वटा रहेका छन्।

    शव पहिचानका लागि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १२४ वटा शव व्यवस्थापन गरिएको छ। पहिचान हुन नसकेका १ हजार ३२५ वटा शवको विवरणसमेत नेपाल प्रहरीले आफ्नो वेबसाइटमा सार्वजनिक गरेको छ।

    यसैबीच बाढीपछि अझै ४ हजार ७७ जना बेपत्ता रहेको प्रहरीले जनाएको छ। उनीहरूको खोजी कार्य विभिन्न प्रभावित क्षेत्रमा जारी छ।

    उद्धार, खोजी, राहत वितरण तथा शव व्यवस्थापनका लागि प्रहरीले हालसम्म ७ हजार ९१२ जना कर्मचारी परिचालन गरेको छ। उद्धार गरिएका तथा विस्थापितमध्ये ३ हजार २४५ जनालाई विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा राखिएको छ।

    बाढीबाट प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोजी तथा उद्धारसँगै बेपत्ताको विवरण संकलन, शव पहिचान र व्यवस्थापन तथा विस्थापितको व्यवस्थापनलाई पनि प्राथमिकताका साथ अघि बढाएका छन्।