दैनिक औसत १ हजार मेगावाट विद्युत् निर्यात, हालसम्म १५ अर्ब आर्जन - Chaitanya News
  • 2026-05-10
  • 05:14:07
  • शनिबार,बैशाख २६, २०८३
  • दैनिक औसत १ हजार मेगावाट विद्युत् निर्यात, हालसम्म १५ अर्ब आर्जन

    दैनिक औसत १ हजार मेगावाट विद्युत् निर्यात, हालसम्म १५ अर्ब आर्जन

    काठमाडौं– दैनिक औसत १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको छ । देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् दैनिक रुपमा औसतमा १ हजार मेगावाट निर्यात भइरहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

    चालु आर्थिक वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात भइसकेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिएका छन् ।

    भारतीय ऊर्जा एक्स्चेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिजुली बिक्री भइरहेको सिलवालको भनाइ छ।

    भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि दैनिक रुपमा ४० मेगावाट विद्युत् निर्यात भइरहेको छ। भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा र बंगलादेशसम्म अमेरिकी डलरमा हुने गरेको छ।

    त्यसैले विद्युत् बिक्रीबाट भारु र डलर आम्दानी भइरहेको छ। प्राधिकरणले भारत र बंगलादेश गरी १ हजार १ सय ६५ मेगावाट विद्युत् निर्यात स्वीकृति पाएको छ।