काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी छन्।
प्रधानमन्त्री कार्कीले मंगलबार बिहान साढे ११ बजे बस्ने गरी राष्ट्रिय परिषद्को बैठक आह्वान गरेकी हुन्। प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए।
राष्ट्रिय परिषद् बैठकले राहतका कार्यलाई प्रभावकारी बनाउने, बाढी पहिरोका कारण क्षति भएका संरचनाको पुनर्निर्माण, अस्थायी तथा स्थायी वासस्थानको व्यवस्था लगायत विषयमा महत्त्वपूर्ण निर्णय हुने उनले बताए।
भट्टले अविरल वर्षापछिको बाढी र पहिरोका कारण ४५ जनाको मृत्यु भएको, ६ जना बेपत्ता भएको र २४ जना घाइतेको उपचार भइरहेको जानकारी समेत दिए। घाइतेको प्रशासन कार्यालयको समन्वयमा निःशुल्क उपचारका साथै पीडित परिवारलाई खाद्यान्न लगायत अन्य व्यवस्था भइरहेको उनले बताए।
भट्टले अझै पनि केहि स्थानमा खोज उद्धारको कार्य जारी रहेकाले बाढी र पहिरोबाट भएको जनधनको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको उल्लेख गरे।