पछिल्लो दुई दिनमा विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता - Chaitanya News
  • 2026-10-29
  • 13:33:39
  • बिहिबार,कार्तिक १३, २०८३
  • पछिल्लो दुई दिनमा विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    पछिल्लो दुई दिनमा विपद्का घटनाबाट देशभर ४० जनाको मृत्यु, ११ बेपत्ता

    काठमाडौँ– पछिल्लो दुई दिनमा विपद्का घटनामा परी देशभर ४० जनाको मृत्यु भएको छ। बाढी पहिरो, चट्याङ तथा सवारी दुर्घटनामा परी १३ जना घाइते भएका सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

    विपद्का घटनामा परी ११ जना बेपत्ता भएका छन्। बाढी पहिरोबाट इलाम जिल्लामा मात्रै २८ जनाको मृत्यु र दुई जना गम्भीर घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ।

    इलामको सूर्योदय नगरपालिकामा पाँच, इलाम नगरपालिकामा छ, देउमाई नगरपालिकामा दुई, फाकफोकथुम गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा तीन, माइजोगमाई गाउँपालिकामा आठ र सन्दकपुर गाउँपालिकामा तीन जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

    यसैगरी बाढी पहिरोमा परी उदयपुरमा दुई, रौतहटमा तीन, रसुवामा चार र काठमाडौँमा एक जनाको मृत्यु भएको छ। खोटाङ, भोजपुर, रौतहट र मकवानपुरमा चट्याङबाट आठ जना घाइते भएका छन्। पाँचथरमा सवारी दुर्घटनामा छ जनाको मृत्यु भएको छ, भने छ जना घाइते भएका छन्।