अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले दुई दिनमा इलाममा मात्रै १८ जनाको ज्यान गयो - Chaitanya News
  • 2026-10-29
  • 13:33:42
  • बिहिबार,कार्तिक १३, २०८३
  • अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले दुई दिनमा इलाममा मात्रै १८ जनाको ज्यान गयो

    अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले दुई दिनमा इलाममा मात्रै १८ जनाको ज्यान गयो

    इलाम– अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्‍याएको छ। पछिल्लो दुई दिन (हिजो र आज) गरी १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्।

    कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले उक्त जानकारी दिएका हुन्। प्रहरीले दिएको जानकारीअनुसार सूर्योदय नगरपालिका–१, मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ।

    त्यस्तै माङसेबुङ गाउँपालिका–१, पाटिगाउँमा ३ जनाको, देउमाई नगरपालिका–५, धारेमा १ जनाको मृत्यु र देउमाई नगरपालिका–५, धुसुनेमा २ जनाको मृत्यु भएको छ। फाकफोकथुम गाउँपालिका–३, रातमाटेस् १ जना र इलाम नगरपालिका–५, घोसगाउँमा ६ जनाको मृत्यु भएको छ।

    यससँगै इलाम जिल्लामा बाढी पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ पुगेको हो। अविरल वर्षाका कारण इलामका अन्य क्षेत्रमा पनि क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ भने उद्धार तथा राहत कार्यका लागि पहल भइरहेको बुझिएको छ।

    सुरक्षाकर्मी तथा स्थानीयको टोली प्रभावित क्षेत्रमा परिचालन भइरहेको जनाइएको छ।