हेर्नुहोस्, कुन बाटोको अवस्था कस्तो छ ? - Chaitanya News
  • 2026-10-29
  • 16:29:39
  • बिहिबार,कार्तिक १३, २०८३
  • हेर्नुहोस्, कुन बाटोको अवस्था कस्तो छ ?

    हेर्नुहोस्, कुन बाटोको अवस्था कस्तो छ ?

    काठमाडौं– गएरातिदेखि नै परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ। यात्रुहरु बाटोमा अलपत्र परिरहेका छन्। यात्रामा जोखिम रहेकाले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन्।

    सबै जनालाई आफू रहेको स्थानमा सुरक्षित रहन नेपाल सरकारका विभिन्न निकायहरुले अनुरोध गरिरहेका छन्। प्रहरीले विभिन्न स्थानमा पेट्रोलिङ र माइकिङ गरिरहेको छ।

    अझै केही दिन यस्तै अविरल वर्षा जारी रहने भएकाले सबैलाई अत्यावश्यकबाहेक हिँडडुल नगर्न अनुरोध गरिएको छ।

    योसँगै वर्षाका कारण पुगेका क्षतिका प्रारम्भिक विवरण आउन थालेका छन्। अहिलेसम्म आएका रिपोर्टअनुसार विशेषगरी सडक पूर्वाधारमा धेरै क्षति भइरहेको छ।

    .नागढुंगा–मुग्लिन सडकखण्ड बन्द:

    बेनीघाट रोराङ गाउँपालिका १० जवाङ खोलामा खसेको पहिरोका कारण दुईतर्फी सडक बन्द छ।

    मुग्लिन–नारायणगढ सडकखण्डमा गाडी चलाउन रोक:

    मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो नखसे पनि यात्रामा जोखिम रहेको भन्दै स्थानीय प्रशासनले गाडी चलाउन रोक लगाएको छ। मुग्लिनतर्फ जाने गाडीहरुलाई भरतपुर, नारायणगढका सुरक्षित स्थानमा रोकिएको छ।

    मुग्लिन–पोखरा सडकमा लामो दुरीका गाडीलाई रोक:

    मुग्लिनदेखि–कोत्रेसम्म र कोत्रेदेखि–पोखरासम्मको बाटोमा पहिरो छैन। तर यात्रामा जोखिम रहेकाले सो बाटोमा लामो दुरीका सवारी साधनलाई चलाउन रोक लगाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक विकास पासवानले जानकारी दिए। गाडीहरुलाई कोत्रे, बेलचौचारा, थर्पु, दमौली, डुम्रे, आँबुखैरेनी, मुग्लिनमा रोकिएको छ।

    आँबुखैरेनी–गोरखा र डुम्रे–लमजुङ सडक खुला:

    आँबुखैरेनी–गोरखा सडकखण्ड र डुम्रे–लमजुङ सडकखण्ड खुला छ। सवारी साधनलाई रोक लगाइएको छैन।

    बीपी राजमार्ग दिउँसोमा पनि बन्द:

    बीपी राजमार्ग दिउँसोको समयमा पनि पूर्णरुपमा बन्द गरिएको छ। यसअघि असोज १६ गतेदेखि २१ गतेसम्म दैनिक साँझ ५ बजेबाट बिहान ५ बजेसम्म मात्र बन्द गरिएको थियो।

    पृथ्वी राजमार्ग:

    धादिङको बेनिघाट–रोराङ गाउँपालिका–१० जवाङखोला खण्डमा शनिबार पहिरो खस्दा बाटो पूर्ण अवरुद्ध छ।

    अरनिको राजमार्ग:

    सिन्धुपाल्चोकको चारकिलो (भोटकोशी) क्षेत्रमा १६ असोजदेखि सडक भासिँदा अवरुद्ध छ। १७ गते सानो सवारीका लागि आंशिक खुलेको थियो, तर १८ गते बिहान थप भासिँदा फेरि पूर्ण बन्द भएको हो।

    पासाङ ल्हामु राजमार्ग:

    रसुवागढीस्थित नेपाल–चीन नाका जोड्ने मितेरी पुल गत असार २४ गतेदेखि नै क्षतिग्रस्त भई आवागमन पूर्ण बन्द छ।

    घट्टेखोला, बालुवाखानि र तातोपानी खण्डमा १६ असोजदेखि नै पहिरो र ढुङ्गा खस्दा बाटो निरन्तर बन्द छ।

    कोशी राजमार्ग:

    भोटखोला–बरुणखोलामा गत ०६ जेठबाटै बाढीले ह्युम पाइप बगाउँदा सडक अवरुद्ध छ।

    मकालु–एकुवा खण्डमा गत १५ भदौदेखि नै पहिरोले बाटो पूर्ण बन्द छ।