तोमनाथ उप्रेती:
संस्कृति भन्नाले व्यक्ति वा समुदायमा प्रचलित विचार, व्यवहार, मूल्यमान्यता, विश्वास, आस्था, सोचाइ, चालचलन, चाँडबाँड, खानपान, पूजाआजा, कला–संगीत, भाषा–साहित्य, रहनसहन आदिको समग्र समष्टिलाई बुझिन्छ। यसैले संस्कृति जीवनशैली मात्र नभई समाजलाई निर्देशित गर्ने चेतनाको स्वरूप हो।
यस्तो आधारभूत संस्कृतिले संगठनलाई प्रभावित गर्छ। संगठनमा देखा पर्ने समस्याहरूको व्यवस्थापन र समाधान गर्ने प्रमुख तत्व संगठनात्मक संस्कृति नै हो। किनभने संस्कार र संस्कृतिले व्यक्ति, परिवार, समूह, संगठन, समाज र राष्ट्र सबैमा आचरण, निर्णय र कार्यशैलीलाई निर्देशित गर्ने आधार निर्माण गर्छ। यस दृष्टिले संगठनलाई बहुसंस्कृतिको संगम पनि भनिन्छ, जहाँ फरक–फरक विचार र अभ्यासहरू समाहित भएर एउटै साझा उद्देश्यतर्फ उन्मुख हुन्छन्।
संगठनात्मक संस्कृतिमा नै संगठनको प्रभावकारिता र सक्षमता निर्भर हुन्छ भन्ने तर्कलाई विभिन्न अनुभवहरूले पुष्टि गरेका छन्। व्यवस्थापनका परम्परागत सिद्धान्तहरूले मुख्यतया पद्धति, संरचना र प्रक्रियामा जोड दिएका थिए। तर व्यवहारमा देखिएको कुरा के हो भने, संगठनको वास्तविक शक्ति त्यसको भित्री संस्कृतिमा निहित हुन्छ। मूल्य, विश्वास र कार्यशैली स्पष्ट नभएका संस्थाहरू दीर्घकालीन रूपमा टिक्न सक्दैनन्।
संगठनात्मक संस्कृति स्थिर र अपरिवर्तनीय हुँदैन। यो समय र वातावरणअनुरूप निरन्तर परिवर्तनशील हुन्छ। समाजमा राजनीतिक शासन प्रणाली, आर्थिक नीति, सामाजिक मूल्य, प्रविधि र नागरिकको चेतना परिवर्तन भएसँगै संगठनात्मक संस्कृतिमा पनि सुधार, अनुकूलन र पुनर्निर्माण आवश्यक हुन्छ। जसरी व्यक्तिको संस्कारले उसको जीवनशैली निर्धारण गर्छ, त्यसरी नै संगठनात्मक संस्कृतिले संस्थाको पहिचान, कार्यसम्पादन र प्रतिष्ठा निर्धारण गर्छ।
त्यसैले भन्न सकिन्छ कि संगठनात्मक संस्कृति एउटा अमूल्य सम्पत्ति हो, जसले संस्थालाई दीर्घकालीन सफलतासँग जोड्छ। विगत लामो समयदेखि निरन्तर काम गर्दै आएका संगठनहरूमा आफ्नै विशिष्टता झल्काउने संस्कृति विकास भएको पाइन्छ। यही विशिष्ट संस्कृतिले संस्थालाई अन्य संगठनबाट फरक बनाउँछ र प्रतिस्पर्धात्मक क्षमताको आधार तयार गर्छ।
संगठनात्मक संस्कृतिले कुनै पनि संस्थाको दीर्घकालीन अस्तित्व र प्रगतिमा निर्णायक भूमिका खेल्छ। संस्कृतिको अर्थ संगठनभित्रका साझा मूल्य, विश्वास, आचरण, नियम र अभ्यासहरूको समष्टि हो, जसले कर्मचारीलाई एउटै उद्देश्यतर्फ निर्देशित गर्छ। यद्यपि संगठनात्मक संस्कृति विभिन्न आयाममा व्याख्या गर्न सकिन्छ, यसको सबैभन्दा महत्त्वपूर्ण रूप भनेको नतिजा–केन्द्रित संस्कृति हो।
नतिजा–केन्द्रित संगठनात्मक संस्कृति भन्नाले संगठनका सम्पूर्ण गतिविधि, प्रक्रिया र कार्यशैलीलाई अन्ततः ठोस परिणाम प्राप्त गर्नतर्फ उन्मुख गर्ने प्रणालीलाई जनाउँछ। यस संस्कृतिमा कर्मचारीहरूको मुल्याङ्कन उपस्थितिमा होइन, उनीहरूले सिर्जना गरेको उपलब्धि, गुणस्तरीय उत्पादन र कार्य–क्षमतामा आधारित हुन्छ। यसले संगठनलाई निरन्तर सुधार, प्रतिस्पर्धा र दीगो उपलब्धितर्फ अगाडि बढाउँछ।
दार्शनिक दृष्टिले हेर्दा, नतिजा–केन्द्रित संस्कृति “कर्म प्रधानता” को सिद्धान्तमा आधारित हुन्छ। भगवद्गीतामा भनिएको छ— “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” —अर्थात् कर्म गर्न तिमीलाई अधिकार छ, तर फलमा होइन। तर व्यवस्थापन र संगठनात्मक परिप्रेक्ष्यमा, कर्मको फल अर्थात् परिणाम पनि अनिवार्य हुन्छ। कर्मको कौशल, पारदर्शिता र उत्तरदायित्वले नै संगठनलाई ठोस उपलब्धिमा पुर्याउँछ।
नतिजा–केन्द्रित संगठनात्मक संस्कृतिमा केही महत्वपूर्ण विशेषताहरू देखिन्छन्, जसले संगठनलाई प्रभावकारी र परिणाममुखी बनाउँछ। पहिलो, स्पष्ट लक्ष्य निर्धारण हो। यस किसिमको संस्कृतिमा कर्मचारीले आफ्नो जिम्मेवारी, कर्तव्य र अपेक्षित परिणाम स्पष्ट रूपमा बुझ्छन्। जब लक्ष्य स्पष्ट हुन्छ, कर्मचारीले आफ्नो कार्यलाई प्राथमिकता अनुसार व्यवस्थित गर्न सक्छन् र संगठनले चाहेको परिणाम हासिल गर्न सजिलो हुन्छ।
दोस्रो, उत्तरदायित्व हो। प्रत्येक सदस्यले आफ्नो भूमिकाप्रति जवाफदेह बन्नुपर्छ। उत्तरदायित्वको भावले कर्मचारीमा आफ्नो कामको महत्व र नतिजाप्रतिको प्रतिबद्धता बढाउँछ। यसले संगठनमा पारदर्शिता र विश्वासको वातावरण सिर्जना गर्छ।
तेस्रो, प्रदर्शन–मूल्याङ्कन हो। नतिजा–केन्द्रित संस्कृतिमा कर्मचारीको मूल्याङ्कन उपस्थितिमा होइन, उनीहरूले सिर्जना गरेको परिणाममा आधारित हुन्छ। यसले उत्कृष्टता र निरन्तर सुधारलाई प्रवर्द्धन गर्छ।
चौथो, सृजनशीलता र नवप्रवर्तन हो। लक्ष्य प्राप्तिका लागि नयाँ विचार, प्रविधि र कार्यविधिको प्रयोग प्रोत्साहित गरिन्छ। यसले संगठनलाई गतिशील बनाउँछ र वातावरणअनुकूल बनाउँछ।
पाँचौं, दक्षता र प्रभावकारिता हो। न्यूनतम स्रोत प्रयोग गरेर अधिकतम परिणाम हासिल गर्ने प्रवृत्ति विकास हुन्छ। यसले संगठनलाई दीगो र प्रतिस्पर्धात्मक बनाउँछ।
यसरी, नतिजा–केन्द्रित संस्कृतिले कर्मचारीलाई जिम्मेवार, सृजनशील र परिणाममुखी बनाउँछ, जसले दीगो विकास र संगठनात्मक सफलता सुनिश्चित गर्छ।
नेपालजस्ता विकासोन्मुख मुलुकका संगठनहरूको सन्दर्भमा नतिजा–केन्द्रित संस्कृति अत्यन्त महत्त्वपूर्ण हुन्छ। किनभने यहाँ स्रोत सीमित छन् तर आवश्यकता विशाल छन्। परिणाममुखी संस्कृतिले स्रोतको उचित उपयोग सुनिश्चित गर्दछ, भ्रष्टाचार र अकर्मण्यतालाई न्यून पार्छ र दीगो विकासतर्फको बाटो खोल्छ।
नतिजा–केन्द्रित संगठनात्मक संस्कृति अपनाउँदा संगठनले आर्थिक लाभ मात्र होइन, सामाजिक र नैतिक जवाफदेहिताको वातावरण पनि निर्माण गर्न सक्छ। यसले कर्मचारीमा आत्मविश्वास बढाउँछ, संगठनमा पारदर्शिता ल्याउँछ र दीर्घकालीन स्थिरता सुनिश्चित गर्छ।
संस्कृति मानवीय जीवन पद्धति हो । यो लामो समयदेखि चल्दै आएको चलन, रितिरिवाज, मानसिक विकास, परम्परा हो । संस्कृति एकअर्कामा बाँडिन्छ, समुदायमा अवलम्बन गरिन्छ ।संस्कृति एकीकृत अर्थात् एकअर्कामा अन्तरनिर्भर र अन्तरसहयोगी हुने गर्दछ । संस्कृति गतिशील हुन्छ । संस्कृति लामो समयदेखि चलिआएको धारणा, व्यवहार, प्रकृति, विश्वास, मूल्यमान्यता हो । यो व्यक्ति वा समूहलाई एक अर्काबाट फरक दर्शाउने गरी विकसित भएको स्थिति हो ।संगठनात्मक संस्कृति संगठनात्मक व्यवहारमा प्रदर्शित हुनाले यसले कर्मचारीको व्यवहारलाई मार्गनिर्देशन गर्दछ । संगठनात्मक व्यवहार कर्मचारीको मनोवैज्ञानिक बुझाइ र काम गराइ हो । संगठनात्मक संस्कृतिले नागरिक र सेवाग्राहीको समाजमा संगठनलाई चिनाउँछ । कर्मचारीलाई संगठनको हितानुकूल बोल्ने, काम गर्ने र जिम्मेवारी लिने बनाउँछ । संगठनका कर्मचारीहरूलाई ज्ञानार्जन, क्षमता विकास र सोको कार्यसम्पादनमा उपयोग गर्न सघाउँछ, उत्प्रेरण दिन्छ । परिणामतः उनीहरू संगठनमा टिकिरहन्छन् ।
संगठनात्मक संस्कृतिले नियम वा प्राविधिक प्रक्रिया मात्र होइन, संगठनको आत्मालाई प्रतिनिधित्व गर्छ। संस्कृतिले संगठनलाई एउटै साझा लक्ष्यतर्फ उन्मुख गराउने अदृश्य तर शक्तिशाली तत्वको रूपमा कार्य गर्छ। जब संगठनभित्रका सबै सदस्य एउटै मूल्य, विश्वास र व्यवहारको ढाँचामा ढल्छन्, त्यतिबेला मात्र संगठन एउटा “समूह” बाट “टिम” मा रूपान्तरण हुन्छ। यही रूपान्तरणले कार्यसम्पादन स्तरलाई उच्च बनाउँछ र संगठनलाई ठोस परिणाम प्राप्त गर्न सक्षम बनाउँछ।
दार्शनिक दृष्टिले, संगठनात्मक संस्कृति संस्कारको निरन्तरता हो। संस्कार भनेको बारम्बार दोहोरिएका व्यवहारहरूको स्थायी रूप हो। मानिसले जस्तो सोच राख्छ, त्यस्तै व्यवहार देखाउँछ; त्यही व्यवहार दोहोरिँदा बानी बन्छ र अन्ततः संस्कारमा रूपान्तरित हुन्छ। यही संस्कार पुस्तादेखि पुस्तामा सरेर “संस्कृति” बन्छ। त्यसैले संगठनात्मक संस्कृतिको वास्तविक स्रोत सदस्यहरूको सोच हो। सोचाइ शुद्ध र सकारात्मक भए संस्कृतिले संगठनलाई उचाइमा पुर्याउँछ, तर नकारात्मक सोचाइ भए संस्थागत पतन तर्फ धकेल्छ।
संगठनात्मक संस्कृतिले संगठनका मान्यता, मूल्य, प्रथा, मनोवृत्ति र अनुभव समेट्छ। यसको उद्देश्य सदस्यहरूले आपसमा र बाहिरी संसारसँग कसरी सम्बन्ध राख्ने भन्ने मार्गदर्शन गर्नु हो। यद्यपि संस्कारलाई प्रत्यक्ष प्रमाणित गर्न सकिँदैन, यसको प्रभाव व्यवहारमा स्पष्ट देखिन्छ। यही अदृश्य तर व्यावहारिक शक्ति नै संस्कृतिको दार्शनिक सार हो।
आन्तरिक र बाह्य दुवै तत्वहरूले संस्कृति निर्माण गर्छन्। आन्तरिकतर्फ संगठनका सदस्यहरूको भाषा, सोचाइ, समन्वय, सूचनाको प्रवाह, कार्यशैली, र सरोकारवालाप्रतिको व्यवहार पर्दछ। बाह्यतर्फ संगठनको संरचना, राजनीतिक–आर्थिक अवस्था, ऐतिहासिक पृष्ठभूमि, कानूनी व्यवस्था, तथा सामाजिक हावापानीले संस्कृतिलाई आकार दिन्छन्। यसबाट प्रस्ट हुन्छ—संस्कृति संगठनभित्रको अभ्यास नभई समाजसँगको अन्तरक्रियाको प्रतिफल पनि हो।
संगठनको उच्च तहमा रहेका कर्मचारीहरू संगठनात्मक संस्कृतिका वाहक मात्र होइन, संस्कृति निर्माणकर्ता पनि हुन्। उनीहरूको ज्ञान, सिर्जनशीलता, व्यवस्थापन कौशल, निर्णय क्षमता, र सत्य बुझ्ने शक्ति संगठनको संस्कृतिलाई बलियो बनाउने आधार हो। तर यदि उच्च तहमा आसिन व्यक्तिहरू चाप्लूसी, व्यक्तिगत स्वार्थ वा नकारात्मक प्रवृत्तिमा फसे भने संस्कृति कमजोर हुन्छ र संगठनको मेरुदण्ड भाचिन्छ।
दार्शनिक रूपमा भन्नुपर्दा, संगठनात्मक संस्कृति “साझा चेतना” हो। व्यक्तिको पहिचान उसको व्यक्तित्वमा हुन्छ भने संगठनको पहिचान यसको संस्कृतिमा हुन्छ। जसरी व्यक्तिको आत्मा उसको शरीरलाई अर्थ दिन्छ, त्यसरी नै संगठनात्मक संस्कृतिले संस्थालाई जीवन, गति र दिशा दिन्छ। त्यसैले संगठनात्मक संस्कृतिको गुणस्तर अन्ततः संगठनको अस्तित्व र प्रगतिको स्तर निर्धारण गर्ने मूल तत्व हो।
संगठनात्मक संस्कृति संस्थाको आत्मा हो। प्रसिद्ध विद्वान रबर्ट क्विन र किम क्यामरुनले यसलाई चार प्रकारमा वर्गीकृत गरेका छन्: कुलगत, तदर्थतन्त्र, बजारी, र पदसोपान। कुलगत संस्कृति सदस्यहरूबीच सहयोग, मिलेर काम गर्ने र साझा सिकाइ प्रवर्द्धन गर्छ। तदर्थतन्त्र संस्कृति गतिशील, जोखिम लिने, नयाँ सिर्जना गर्ने र अग्रसर काम गर्ने वातावरण सिर्जना गर्छ। बजारी संस्कृति प्रतिस्पर्धा र परिणामप्राप्तिमा केन्द्रित हुन्छ भने पदसोपान संस्कृति अनुशासन, प्रक्रियामूलक कार्य, स्थिरता र प्रभावकारितामा जोड दिन्छ।
दार्शनिक दृष्टिले हेर्दा, कुलगत र तदर्थतन्त्र संस्कृति अधिक लचकदार छन् र आन्तरिक वातावरणसँग अनुकूल हुन्छन्। यसले संगठनलाई सृजनशीलता र नवप्रवर्तनतर्फ उन्मुख बनाउँछ। बजारी र पदसोपान संस्कृति तुलनात्मक रूपमा स्थिर छन् र बाह्य वातावरणसँग अनुकूल हुने क्षमता बढी राख्छन्। प्रभावकारी संगठनात्मक संस्कृति त्यही हो, जसले उत्पादकता बढाउने साथै अनुत्पादक प्रवृत्तिमा सुधार ल्याउने क्षमता राख्छ।
निजामती सेवामा प्रचलित संस्कृति प्रायः प्रक्रियामुखी, पदानुक्रममुखी, निर्णयमा सावधान र जोखिमविहीन हुन्छ। कर्मचारीले अधिकार प्रत्यक्ष प्रयोग गर्न रुचाउँदैनन्, नयाँ विधि र नवप्रविधि अपनाउन हिच्किचाउँछन्, र सेवाग्राहीको आवश्यकता भन्दा हाकिमको निर्देशलाई प्राथमिकता दिन्छन्। यस्तो संस्कृति परिणाममुखी र नागरिकमुखी सेवा प्रवाहका लागि बाधक हुन्छ।
त्यसैले संगठनात्मक संस्कृति परिवर्तनका लागि कर्मचारीको सोच, व्यवहार र मूल्याङ्कनमा परिवर्तन आवश्यक छ। सार्वजनिक प्रशासनले आफ्ना कर्मचारीमा निजामती सेवाप्रति गर्वको भावना र जिम्मेवारीबोध जगाउनुपर्छ। यसले मात्र कर्मचारीलाई सक्षम, उत्तरदायी र सेवाग्राहीमुखी बनाउँछ। संगठनले कर्मचारीलाई प्रेरित र खुसी बनाउँदा मात्रै नागरिकलाई प्रभावकारी सेवा दिन सकिन्छ।
समय र परिस्थितिको मागअनुसार संगठनात्मक संस्कृति पनि गतिशील र अनुकूलनशील हुनुपर्छ। यसलाई संगठनको जिम्मेवारी, उत्तरदायित्व र परिणामप्राप्ति सँग जोड्नु आवश्यक छ। जब संस्कृति स्पष्ट लक्ष्य, पारदर्शिता, टीमवर्क, नवप्रवर्तन र परिणामप्रमुख चरित्रमा आधारित हुन्छ, त्यतिबेला मात्र सार्वजनिक संगठनले नयाँ चुनौती र जिम्मेवारीहरूलाई सहज रूपमा सामना गर्न सक्छ।
संगठनात्मक संस्कृति प्रचलित आचार–व्यवहार मात्र नभई, दीगो प्रशासन, उत्पादकता, नागरिक सन्तुष्टि र संस्थाको प्रतिष्ठाको आधार पनि हो। यसको विकास र सुधार निरन्तर, योजनाबद्ध र नेतृत्वको सक्रिय इच्छाशक्तिमा आधारित हुनु आवश्यक छ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)