पुँजी बजारको विसङ्गति अध्ययन गर्न चार सदस्यीय कार्यदल, नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालले देखाए चासो - Chaitanya News
  • 2026-05-21
  • 15:35:31
  • बिहिबार,जेठ ०७, २०८३
  • पुँजी बजारको विसङ्गति अध्ययन गर्न चार सदस्यीय कार्यदल, नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालले देखाए चासो

    पुँजी बजारको विसङ्गति अध्ययन गर्न चार सदस्यीय कार्यदल, नेगेटिभ सर्किटपछि अर्थमन्त्री खनालले देखाए चासो

    काठमाडौँ– हिजो (बिहीबार)को सेयर बजारमा नकारात्मक सर्किट ब्रेकर लागेपछि अर्थमन्त्री रामेश्वर खनालले चासो देखाएका छन्। एकैदिन २६८ अर्ब रुपैयाँ बराबरको सम्पत्ति घट्ने गरी १६०.३३ अंकले बजार घटेपछि खनालले यसबारे अध्ययन गर्न कार्यदल बनाएका हुन्।

    नेपाल धितोपत्र बोर्डका कामु कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित चार सदस्यीय कार्यदलमा नेपाल राष्ट्र बैंकका निर्देशक शरण अधिकारी, नेपाल स्टक एक्सचेन्जका कामु कार्यकारी निर्देशक निरञ्जन फुयाँल र अर्थ मन्त्रालयका उपसचिव शरद निरौला रहेका छन्।

    उक्त कार्यदललाई पुँजी बजारमा देखिएका समस्या र विसङ्गति अध्ययन गरी समाधानका लागि गठन गरिएको कार्यदललाई ५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

    अर्थ मन्त्रालयका अनुसार कार्यदलले लगानीकर्ताको मनोबल वृद्धिका लागि तत्काल आवश्यक प्रणालीगत तथा प्रक्रियागत सुधारका उपाय र दीर्घकालीन रूपमा बजार सुदृढ बनाउनुपर्ने कदमबारे सुझाव दिनेछ मन्त्रालयका प्रवक्ता टंक पाण्डेयले जानकारी दिए। कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनमार्फत तत्कालै लागू गर्न सकिने सुधारका कदमहरू पहिचान गर्नेछ।