चैतन्य एकेडेमी बुटवलद्वारा जेन–जी आन्दोलनका सहिदहरूलाई सम्झिँदै दीप प्रज्वलन कार्यक्रम सम्पन्न - Chaitanya News
  • 2025-11-08
  • 16:11:09
  • शनिबार,कार्तिक २३, २०८२
  • चैतन्य एकेडेमी बुटवलद्वारा जेन–जी आन्दोलनका सहिदहरूलाई सम्झिँदै दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    चैतन्य एकेडेमी बुटवलद्वारा जेन–जी आन्दोलनका सहिदहरूलाई सम्झिँदै दीप प्रज्वलन कार्यक्रम सम्पन्न

    बुटवल- जेन–जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते शहीद भएका वीर सहिदहरूको सम्झनामा चैतन्य एकेडेमी नेपाल, बुटवल शाखाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।

    बिहीबार साँझ एकेडेमीको बुटवल शाखा परिसरमा सम्पन्न कार्यक्रममा सहिद आत्माहरूको चिर शान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ, तथा देशमा शान्ति, सद्भाव र समृद्धिको कामनासहित श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा बुटवल शाखाका प्रमुख अतिथि दीपक ढकालले सहिदहरूले देखाएको बलिदानलाई भावी पुस्ताको प्रेरणाका रूपमा लिएर राष्ट्र निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे।

    मानव अधिकार अधिकृत सागर पोखरेलले आन्दोलनका क्रममा उठाइएका मागहरूको सम्बोधनमा राज्य गम्भीर हुनुपर्ने बताए। साथै, उनले मानव अधिकार र न्यायको प्रत्याभूति गर्न सरकार प्रतिबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै सहिदहरूको सम्मान गर्नु सम्पूर्ण नागरिकको साझा दायित्व रहेको उल्लेख गरे।

    त्यसै गरी, नागरिक लगानी कोषका अधिकृत शङ्कर पोखरेलले शान्ति, सद्भाव र दिगो विकासका लागि सबै क्षेत्रको सहकार्य आवश्यक भएको बताए।

    प्राध्यापक शेषकान्त अर्यालले आन्दोलनमा युवाहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको बताउँदै सहिदका सपना साकार पार्ने जिम्मेवारी नयाँ पुस्ताले बोक्नुपर्नेमा जोड दिए। उनले नागरिक सचेतना, ऐक्यबद्धता र सक्रिय सहभागिता आजको आवश्यकता भएको स्पष्ट पारे। कार्यक्रममा विद्यार्थी, प्राध्यापक, समाजसेवी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको आयोजकले जनाएको छ।