संविधान दिवस–२०८२ देशभर मनाइँदै, संविधान जारी भएको एक दशक पूरा - Chaitanya News
  • 2026-05-10
  • 07:15:10
  • आइतबार,बैशाख २७, २०८३
  • संविधान दिवस–२०८२ देशभर मनाइँदै, संविधान जारी भएको एक दशक पूरा

    संविधान दिवस–२०८२ देशभर मनाइँदै, संविधान जारी भएको एक दशक पूरा

    काठमाडौँ- आज असोज ३ गते, संविधान दिवस तथा राष्ट्रिय दिवस देशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ ।

    नेपालको संविधान, २०७२ साल असोज ३ गते तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले संविधानसभाबाट पारित भई लागू भएको घोषणा गर्नुभएको दिनलाई सम्झनामा हरेक वर्ष यस दिनलाई संविधान दिवसका रूपमा मनाइँदै आएको हो । यस पटक संविधान जारी भएको एक दशक पूरा भएको विशेष अवसरसमेत परेको छ ।

    संविधान दिवस २०८२ का मुख्य समारोह राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा काठमाडौँको सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरिएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्दै वर्तमान संविधानको ऐतिहासिक महत्त्व, यसको कार्यान्वयनपछिका उपलब्धि, चुनौती र आगामी दिशा–निर्देशनबारे मन्तव्य दिने गृह मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीका अनुसार यस वर्षको संविधान दिवस विशेष राजनीतिक संवेदनशीलता र पछिल्ला आन्दोलनबाट उत्पन्न चुनौतीका कारण केही औपचारिक कार्यक्रम सीमित गरिएका छन् । सामान्यतया हरेक वर्ष सैनिक मञ्चमा विविध झाँकी, सांस्कृतिक प्रस्तुति तथा ¥यालीमार्फत राष्ट्रिय दिवस भव्य रूपमा मनाउने परम्परा रहे पनि यस पटक त्यसको परिमाण न्यून रहनेछ ।

    यस वर्ष संविधान दिवसको अवसरमा मुलुकभर सरकारी कार्यालय, विद्यालय, समुदाय तथा विभिन्न सङ्घसंस्थाहरूमा संवैधानिक अधिकार, लोकतान्त्रिक अभ्यास, उपलब्धि र आगामी मार्गचित्रबारे छलफल, अन्तरक्रिया तथा बहस हुने अपेक्षा गरिएको थियो । तर, पछिल्लो आन्दोलन, त्यसले निम्त्याएको जनधनको क्षति र विषम परिस्थितिका कारण व्यापक बहस तथा अन्तरक्रिया हुने कार्यक्रम स्थगित गरिएको मन्त्रालयले जनाएको छ ।

    संविधान जारी भएको दस वर्षको अवधिमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई संस्थागत गर्दै, तीनै तहका सरकार गठन, विधायन, नीति तथा योजना निर्माणमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको भए पनि अझै कार्यान्वयनमा चुनौतीहरू बाँकी रहेको विश्लेषकहरूले बताउँदै आएका छन् । विशेषतः आर्थिक–सामाजिक रूपान्तरण, सुशासन र भ्रष्टाचार नियन्त्रण, जनताको अधिकार कार्यान्वयन र सङ्घीय अभ्यासमा देखिएका कमजोरी संविधानको आगामी यात्रामा ठुला प्रश्न बनेका छन् ।

    संविधान दिवसलाई सरकार मात्र नभई नागरिक तह, राजनीतिक दल, सामाजिक अभियन्ता र सम्पूर्ण जनताले देशको साझा दस्ताबेजप्रति गर्व, स्वामित्व र जिम्मेवारीका साथ मनाउनुपर्ने आवश्यकता औँल्याइएको छ ।