जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग - Chaitanya News
  • 2025-11-08
  • 11:41:48
  • शनिबार,कार्तिक २३, २०८२
  • जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग

    जेन्जी आन्दोलनपश्चात् क्षतिग्रस्त गौरीगङ्गा नगरपालिकालाई चैतन्य पाठशालाको सहयोग

    धनगढी – हालसालै देशभर भएको जेन जी आन्दोलनका क्रममा कैलालीको गौरीगङ्गा नगरपालिकामा विभिन्न सार्वजनिक सम्पत्ति, कार्यालय र कार्यालयमा रहेका उपकरण हरूमा क्षति पुगेको अवस्थालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिका–५ शिवनगरस्थित चैतन्य पाठशालाले एक थान प्रिन्टर सहयोग गरेको छ।

    आन्दोलनका क्रममा आक्रोशित भीडले नगरपालिकाको कार्यालयमा आगजनी गरेको थियो । आगलागीका कारण नगरपालिका क्षतिग्रस्त बनेपछि तत्कालीन राहत तथा पुनर्निर्माणमा हातेमालो गर्ने उद्देश्यले विद्यालयले सहयोग गरेको हो । राहत सामग्री  विद्यालयका प्रतिनिधिहरूले  गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई हस्तान्तरण गरेका हुन । कार्यक्रममा चैतन्य ग्रुप अफ कम्पनीका सिइओ गणेश प्रसाद जोशी । चैतन्य पाठशालाका पिटिए अध्यक्ष ईश्वर गिरी सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य दूत दीपक उपाध्याय नेपालको सहभागिता रहेको थियो ।

    “चैतन्य पाठशालाले सधैँ सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै आएको र विद्यार्थीलाई केवल पाठ्यपुस्तक र परीक्षा केन्द्रित ज्ञान दिने मात्र होइन, समाजमा आवश्यक परेका बेला योगदान गर्न प्रेरित गर्दै आएको मा आफूलाई खुसी लागेको गौरीगङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले बताए । उनले भने, “आन्दोलनको कारण हाम्रो नगरपालिकामा देखिएका क्षति तत्काल मर्मत र व्यवस्थापन गर्न कठिनाइ भइरहेको छ । यस्तो संवेदनशील समयमा चैतन्य पाठशालाले गरेको सहयोगले नगरपालिकालाई राहत मात्र दिएको छैन, यो समाजलाई जोड्ने एउटा सकारात्मक सन्देश पनि हो।”

    नगर प्रमुखले विद्यालयप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अन्य संस्था र सङ्घ–संस्थाले पनि यसरी सहयोगका हात अघि बढाउने विश्वास व्यक्त गरे।

    चैतन्य पाठशालाले यसअघि पनि विभिन्न विपद्, महामारी तथा सामाजिक अभियानहरूमा सहयोग गर्दै आएको छ । विद्यालय प्रशासनले अबको दिनमा पनि जहाँ आवश्यकता पर्छ, त्यहाँ योगदान गर्ने प्रतिबद्धता जनाएको छ।
    जेन्जी आन्दोलनले देशभर अनेकौँ चुनौती र क्षति बोकेर आएको भए पनि चैतन्य पाठशालाको यो कदमले समुदायलाई सहकार्य र सहअस्तित्वको सन्देश दिएको छ। समाज र राष्ट्र निर्माणमा शैक्षिक संस्थाहरूको भूमिकालाई उजागर गर्ने यो उदाहरणीय कार्यले अन्य विद्यालय र संस्थाहरूसमेतलाई प्रेरित गर्ने विश्वास गरिएको छ।