काठमाडौँ– नेपालमा अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ।
अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय भुक्तानी प्रणाली अन्तर आबद्धता सुरु गरेको छ।
अर्थमन्त्री रामेश्वर खनाल र मुख्यसचिव एकनारायण अर्यालले यसको सुरुवात गरेका हुन्। यसबाट विदेशमा रहेका करदाता र नेपाल आउने पर्यटक लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार इन्टरनेसल कार्ड नेटवर्कको अन्तर आबद्धताबाट सेवा प्रवाह पेपरलेस, फेसलेस बनेको छ। सेवा २४ सै घण्टा उपलब्ध हुने भएको छ। राजस्व संकलन द्रुत, पारदर्शी, अन्तर्राष्ट्रिय पहुँचयुक्त र सेवाग्राहीमैत्री हुने समेत अर्थको तर्क छ। यसबाट नेपालमा डिजिटल इकोनोमीको प्रवर्द्धन हुने समेत अर्थले जनाएको छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार यो भुक्तानी प्रणालीबाट मास्टर कार्ड, भिसा कार्ड, अलि पे लगायत अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत नेपालको अध्यागमन विभागले तोकेको सेवा प्राप्त हुने छ।
यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहितका प्रवेश विन्दुबाट नेपाल प्रवेश गर्ने पर्यटक लाभान्वित हुने छन् ।
यो सेवा अहिले अध्यागमन विभाग र अन्तर्गतका निकायबाट प्रवाह हुने अध्यागमन राजस्व भुक्तानीमा सुरु गरिएको छ ।
आगामी दिनमा यसलाई नेपाल सरकारका अन्य निकायमा समेत बिस्तार गरिने भएको छ ।