वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक - Chaitanya News
  • 2026-05-21
  • 16:19:07
  • बिहिबार,जेठ ०७, २०८३
  • वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

    वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक

    काठमाडौं– आज (बिहीबार) नेपाल राष्ट्र बकैंले वित्तीय प्रणालीबाट ९० अर्ब तरलता खिच्ने भएको छ। प्रणालीमा २ खर्ब भन्दा धेरै तरलता भएपछि केन्द्रीय बैंकले निक्षेप संकलन मार्फत अधिक तरलता खिच्न लागेको हो।

    राष्ट्र बैंकका अनुसार वित्तीय प्रणालीमा बुधबारसम्ममा २ खर्ब ४ अर्ब तरलता रहेको छ। त्यसैले केन्द्रीय बैंकले १० दिन अवधिको निक्षेप संकलन उपकरण मार्फत ९० अर्ब अधिक तरलता खिच्ने भएको हो। उक्त निक्षेप संकलमा बैंक तथा वित्तीय संस्थाले आफ्नो अधिक तरलता केन्द्रीय बैंकलाई दिन सक्छन। यसमा केन्द्रीय बैंकले थोरै ब्याजदर माग्ने बैंक वित्तीय संस्थालाई प्राथमिकतामा राखेर बाँडफाँट गर्छ। हाल प्रणालीमा देखिएको अधिक तरलताको अवस्थामा निक्षेप संकलनको ब्याजदर घट्ने संकत गर्छ।

    केन्द्रीय बैंकले वित्तीय प्रणालीको तरलता अवस्था र अन्तर बैंक ब्याजदर व्यवस्थापनका लागि निक्षेप संकलन, स्थायी निक्षेप सुविधा लगायत उपकरण मार्फत बजारको पैसा खिच्छ।

    त्यसैगरी प्रणालीमा तरलताको अवस्था कसिलो हुँदा स्थायी तरलता सुविधा, रिपो मार्फत प्रणालीमा पैसा पठाउँछ।

    केन्द्रीय बैंकले वित्तीय प्रणालीमा तरलता पठाउँदा ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंक दरमा ब्याज लिन्छ भने तरलता खिच्दा करिडोरको तल्लो सीमा स्थायी निक्षेप सुविधा दर बराबरको ब्याज दिन्छ। हाल बैंक दर ६ र स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशत रहेको छ।

    जेन्जी युवाहरूको आन्दोलन, तोडफोड र आगजनी पछि बैंक तथा वित्तीय संस्थाहरू केही दिन बन्द रहे। त्यसले गर्दा पनि केन्द्रीय बैंकलाई मौद्रिक व्यवस्थापनमा अफठ्याराहरू देखिएका थिए।

    केन्द्रीय बैंकले प्रणालीको तरलता खिच्ने संयन्त्र सक्रिय राख्न नसक्दा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको थियो। साथै जेन्जी आन्दोलनका कारण बैंक तथा वित्तीय संस्थामा निक्षेप पनि बढेको देखिन्छ।

    यो साताको मंगलबारसम्म केन्द्रीय बैंकसँग वित्तीय प्रणालीको ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ मौज्दात छ। सो मौज्दात रकम मध्ये स्थायी निक्षेपको ४ खर्ब ४ अर्ब हो भने निक्षेप संकलनको २ खर्ब ६६ अर्ब ७५ करोड रहेको केन्द्रीय बैंकले जनाएको छ।