काठमाडौँ– सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्को सोमबार अपराह्न बसेको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई प्रतिपरिवार १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत ५ लाख दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को त्यो निर्णय मंगलबारमात्रै गृह मन्त्रालयमा पुगेको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले मन्त्रिपरिषद्को निर्णय मन्त्रालयमा आइपुगेको जानकारी दिए।
अहिलेसम्म आन्दोलनमा मृत्यु भएकाको सङ्ख्या ७३ जना छ। मन्त्रिपरिषद्को निर्णय अनुसार मृतकका परिवारले राहत लिनका लागि प्रक्रिया पुर्याउन पर्ने देखिएको छ। निर्णयमा लेखिएको छ, ‘सहिदको सूची प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पुस्ट्याइँसहित यकिन गरी गृह मन्त्रालयले स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्ने।’
यो निर्णयअनुसार क्षतिपूर्ति पाउन पहिला प्रहरीले आन्दोलनमा मृत्यु भएको हो कि होइन पुष्टि गर्नुपर्छ। प्रहरीले आन्दोलनमा मृत्यु भएको पुष्टि गरेपछि मृतक जुन जिल्लाको स्थायी बासिन्दा हो त्यो जिल्लाको प्रशासन कार्यालयले गृह मन्त्रालयमा लेखि पठाउँछ।
मन्त्रालयले प्रहरी प्रतिवेदन र प्रशासन कार्यालयका पत्रका आधारमा टिप्पणी तयार गरी स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा पेस गर्छ। मन्त्रिपरिषद्ले निर्णय गरेपछि मात्रै मृतकका परिवारले घोषित रकम पाउँछन्।
मन्त्रिपरिषद् बैठकले प्रदर्शनका क्रममा घाइते भएकाको निःशुल्क उपचार गर्ने, असोज एक गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। त्यस्तै काठमाडौँको उपयुक्त स्थानमा जेनजी जागरण स्मारक पार्क निर्माणको प्रक्रिया सहरी विकास मन्त्रालयले अगाडि बढाउने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ।