काठमाडौँ– हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ। अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसैगरी, आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग र लुम्बिनी प्रदेशका तराइका भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
यस्तै महाशाखाका अनुसार, आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू –भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आँशीक बदली रहने छ। मधेश प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।