असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक, कुन बैंकमा पाइन्छ बढी ब्याज ? - Chaitanya News
  • 2026-11-09
  • 06:47:40
  • सोमबार,कार्तिक २४, २०८३
  • असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक, कुन बैंकमा पाइन्छ बढी ब्याज ?

    असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक, कुन बैंकमा पाइन्छ बढी ब्याज ?

    काठमाडौँ– बैंक तथा वित्तीय संस्थाले असोज महिनाका लागि नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। नयाँ महिनाका लागि अघिल्लो महिनाको मसान्तभित्र ब्याजदर तोकिसक्नुपर्ने व्यवस्था बमोजिम बैंकहरूले आगामी महिनाका लागि ब्याजदर तोकेका हुन्। वाणिज्य बैंकहरूमध्ये यसपटक ९ वटा बैंकले ब्याजदरमा सामान्य हेरफेर गर्दा बाँकी बैंकहरूले यथावत् राखेका छन्।

    विवरण अनुसार २० वाणिज्य बैंकहरूमध्ये साधारण मुद्दती निक्षेपमा बैंकहरूले न्यूनतम २.७५ प्रतिशतदेखि अधिकतम २.८० प्रतिशतसम्म ब्याजदर तोकेका छन्। विभिन्न प्रकारका बचत खाताबिच २ प्रतिशत भन्दा धेरै ब्याजदर अन्तर हुन नपाउने व्यवस्था छ भने रेमिट्यान्स खाताको ब्याजदरमा थप १ प्रतिशत विन्दुले ब्याजदर थप्न पाउने व्यवस्था छ। बैंकहरूले त्यही रेञ्जभित्र रहेर विशेष खाता तथा रेमिट्यान्स खाताको ब्याजदर निर्धारण गरेका छन्।

    त्यस्तै, मुद्दती खाता अन्तर्गत एकवर्षे व्यक्तिगत बचतमा न्यूनतम ३।२५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ। व्यक्तिगत मुद्दतीतर्फ एक अधिकतम ब्याजदर भने अहिले पनि ६ प्रतिशतसम्म रहेको छ। खासगरी कम अवधिका लागि कम ब्याजदर र लामो अवधिका लागि धेरै ब्याजदर दिनेगरी बैंकहरूले नयाँ ब्याजदर तालिका बनाएका छन्।

    उता संस्थागत मुद्दती खाततर्फ एक वर्षका लागि अधिकांश बैंकले २.७५ प्रतिशत ब्याजदर तोकेका छन्। यस्तो खातामा ग्लोबल आर्ईएमईले सबैभन्दा धेरै ३.२५ प्रतिशत ब्याजदर तोकेको ६ भने एनएमबि, लक्ष्मी सनराइज र माछापुच्छ्रे बैंकले ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

    संस्थागत मुद्दतीका लागि एक वर्षभन्दा माथिको अवधिका लागि भने बैंकहरूले धेरै ब्याजदर अफर गरेका छन्। अहिले एनएमबि, एनआईसी एशिया र हिमालयन बैंकले ५ प्रतिशतसम्म ब्याजदर तोकेका छन्। केही बैंकको ब्याजदर भने दीर्घकालका लागि समेत न्यून छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले संस्थागत मुद्दतीमा जुनसुकै समयका लागि सबैभन्दा कम २.७५ प्रतिशत ब्याजदर तोकेको छ।