अन्तरिम सरकारको स्वागत गर्दै अमेरिकाले भन्यो: ‘हामी नेपालसँग सहकार्य गर्न तयार छौँ’ - Chaitanya News
  • 2026-05-10
  • 08:16:29
  • आइतबार,बैशाख २७, २०८३
  • अन्तरिम सरकारको स्वागत गर्दै अमेरिकाले भन्यो: ‘हामी नेपालसँग सहकार्य गर्न तयार छौँ’

    अन्तरिम सरकारको स्वागत गर्दै अमेरिकाले भन्यो: ‘हामी नेपालसँग सहकार्य गर्न तयार छौँ’

    काठमाडौँ– संयुक्त राज्य अमेरिकाले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा स्वागत गरेको छ।

    अमेरिकी दूतावासले आज विज्ञप्तिमार्फत गत हप्ताको दुःखद् घटनाहरूपछिको शान्तिपूर्ण समाधान भन्दै स्वागत गरेको हो। लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दै दूतावासले दुःखद् समयमा नेपालसँग शोकमा साथमै रहेको उल्लेख गरेको छ।

    विज्ञप्तिमा उल्लेख छ ,“हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई सङ्क्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुनर्स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकामा सम्मान गर्दछौँ।”

    दूतावासले अन्तरिम सरकारले आगामी महिनाहरूमा नयाँ निर्वाचनको तयारी गर्ने क्रममा नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ। राष्ट्रपति पौडेलले पूर्व प्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।